✍ सीता पाण्डे
पानी- कुनै सिमानाले रोकिँदैन
हावा- कुनै सिमाना देख्दैन
सूर्य- भाग बण्डा लगाएर उदाउँदैन
चन्द्रमा- कसैलाई पक्षपात गर्दैन
तिमी भने, किन चुच्चे ढुङ्गामा झोक्राएर बसिरहेका छौ !
टोल्हाएर हेरिरहेका छौ !
त्यहाँबाट उठेर त हेर
तिम्रो आकार
तिमीले पत्तै नपाइ अमिवा झैँ फैलिरहेको छ
तिम्रो आयतन तिमीले आँकलन गरेभन्दा धेरै तन्किरहेको छ !
तिम्रो घर, आंगन
अब
चुच्चे ढुङ्गा र मेचीकिनारमा मात्र सीमित रहेन !
तिनीहरू त हावाको वेग भन्दा पनि
छिटो दगुरिरहेका छन्,
सूर्यको किरण जस्तै,
जतासुकै पुगेका छन्
सलह झैँ छ्यापछ्याप्ती, बग्रेल्ति
जतासुकै पुगेकै छन्,
तिम्रो गीत गुन्गुनाइरहेकै छन्,
तिम्रो सन्देश र सुवास
बोकेर हिँडेका छन्,
माटो, ढुङ्गा र पहाड
नफैलिएर के भो त ?
भाषा, साहित्य र संस्कृतिले
तिमीले साम्राज्य फैलाइरहेका छौ त !
अझ, भन्छौ भने
उनीहरू यहीँ बसिरहेका भए,
एउटा कुर्सी थप्नुपर्थ्यो होला,
वा एउटा कुर्सीका लागि थप लुछाचुँडी गर्नुपर्थ्यो होला,
अब, सम्झ
बुझ्ने कोशिस गर,
यो भूगोल भन्दा पनि पर
एउटा अर्को देश छ,
एउटा अर्को ‘नेपाल’ छ !
ती सबै, तिम्रो गणनामा नआएका सैनिक हुन्,
कुनै ट्याग र सरकारी तलब, भत्ता र सुविधा नलिने
तिम्रा दूतहरू हुन्,
लौ त,
तिमीलाई ‘छ्यास्स’ घाउ त लागोस्-
तिमीलाई अलिकति
दुखेको वा च्यापिएको त सुनुन्
तिनीहरूलाई… तिमीलाई भन्दा पहिले दुख्छ,
तिनीहरूलाई.. तिमीलाई भन्दा बढी आँशु आउँछ !
तिमीहरूलाई लाग्दो हो-
वा अझै भ्रम पालेर बसेका छौ,
यिनीहरू कुनै कुनामा
लुकेर बसेका होलान्,
आफ्नो अस्तित्व जोगाउन
आफैसित लडिरहेका होलान्,
तिमी लाई थाहा छ कि छैन
उनिहरू त अब
संसार हाँक्ने भैसके, नेतृत्व दिने भैसके,
नासा, नक्षेत्र, एआई, विश्वका विशिष्ट विश्वविद्यालय,
जोन हकिन्स, पेन्टागन
जहाँ पनि नेपाल हेर्नुहोस्, नेपाल भेट्नुहोस्,
‘एण्ड्रियन’ र ‘ह्यारी’हरू हरेक देशमा छन्
र नेपालीकै बाटो फराकिलो बनाउने अभियानमा
लागिपरेका छन्,
तिमी, अब
निर्धक्क होउ,
हाँस, नाच र गर्वले शिर ठाडो बनाउ !
संधै चाडबाड मनाउ,
आफ्ना सन्ततिहरूको प्रगति देखेर रमाउ !
मात्र, उनीहरूलाई
तिमीहरू हाँसेको देख्न मन छ,
बासेको सुन्न मन छ,
तिमीहरू नाचेको हेर्न मन छ,
सबैभन्दा, ठूलो कुरा त
‘तिमीहरू’ आपसमा झगडा नगरेको हेर्न मन छ !
प्रतिक्रिया