चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट आज (७ जेठ) विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा विश्वासको मत लिन लागेको यो चौथोपटक हो ।

उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुनुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्ने सङ्घीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुने जनाइएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

सङ्घीय ससद्को चौथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त वैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ ।

file photo: rss