मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा !

मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा !


मधेश प्रदेशको नेकपा (एमाले) संसदीय दलका नेता तथा मधेश प्रदेशका निर्वतमान भौतिक पुर्वाधार विकाश मन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएको आठ दिन पुगिसकेको छ, तर उनले अझै सरकारी सेवा सुविधा त्यागेका छैनन् । राजीनामा दिएको यतिका दिन बितिसक्दा पनि पूर्वमन्त्री यादवले सरकारी सम्पत्ति सेवा सुविधाको दुरुपयोग गरिरहेका हुन् ।

एउटा मन्त्रीका रुपमा उपलब्ध हुने सबै सेवासुविधा र साधन मन्त्रीको जिम्मेवारीमा नरहँदा पनि उपभोग गर्न नहिच्किचाएका उनले सरकारी गाडीमा रहेको झण्डा पनि नढाक्नुलाई आश्चर्यकै रुपमा हेरिएको छ ।

मन्त्रीनिवासको गेटमा लेखिएको नेमप्लेटबाट पनि उनको नाम हटाइएको छैन ।

गत वैशाख ३० गते आइतबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष उनले राजीनामापत्र बुझाएका थिए ।

मन्त्री पदबाट राजिनामा दिएको एक साताभित्र सरकारमा सहभागी मन्त्रीका हैसियतले लिँदै आएका सबै प्रकारका सरकारी सेवा सुविधा त्याग्नुपर्ने व्यवस्था भए पनि पूर्वमन्त्री यादवले ८ दिन बितिसक्दा पनि जनकपुरस्थित सरकारी निवास नछाड्नुलाई सामान्य रुपमा लिन नसकिने मन्त्रालयका एक कर्मचारीले बताए ।

मन्त्रीको हैसियतले प्रयोग गर्दै आएको मधेस प्रदेश ०२-००१ झ ०२१५ नम्बरको सवारीसाधनको दुरुपयोग गर्नुको पछिल्तिर आफू पुनः मन्त्री बन्ने उनको विश्वासले काम गरेको बुझिएको छ । मधेस प्रदेश सरकार यतिबेला अन्योलकाृे भासमा परेकोे अवस्था छ । यस अवस्थामा आफू पुनः मन्त्री बननेमा यादव ढुक्क रहेकोले आवास छाड्न यादवले आलटाल गरिरहेको स्रोतको भनाइ छ ।

तथापि, मन्त्री पदबाट बाहिरिएको एक साताभित्र सरकारी सम्पत्ति हस्तान्तरण गर्नुपर्नेमा उनले त्त्यसो नगरी सुशासन र आर्थिक उत्तरदायित्वबाट विमुख हुन खोजेको सम्बद्ध कर्मचारीको भनाइ छ ।