स्नुकर प्रतियोगिता जेठ १९ गतेदेखि

स्नुकर प्रतियोगिता जेठ १९ गतेदेखि


नेपाल विलियर्डस स्नुकर तथा पुल सङ्घको आयोजनामा पहिलो काठमाडाँं स्नुकर च्याम्पियनसिप-२०२४ को आयोजना हुने भएको छ ।

यही जेठ १९ देखि २९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १६ क्लबका दुई सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक समितिका अध्यक्ष सरोजकुमार मुल्मीका अनुसार नेपालमा स्नुकर खेलको विकास र विस्तारका लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु दुई लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी पहिलो रनरअप खेलाडीले रु एक लाख पाउने छन् भने सेमिफाइनमा पुग्ने खेलाडीले रु ५० हजार पाउने छन् ।

त्यसैगरी, क्वाटर फाइनलमा पुग्ने खेलाडीले रु १० हजार तथा प्रि क्वाटर फाइनलमा पुग्ने खेलाडीले रु पाँच हजार पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी चयन हुने खेलाडी र उत्कृष्ट राइजिङ खेलाडीले जनही रु १५ हजार पाउने छन् ।