अख्तियार भ्रष्टाचारका मुद्धा दर्ता गर्ने : विशेष अदालत भ्रष्टलाई जिताउँदै जाने !

अख्तियार भ्रष्टाचारका मुद्धा दर्ता गर्ने : विशेष अदालत भ्रष्टलाई जिताउँदै जाने !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

लामो समय गहन अनुसन्धान गरेर विशेष अदालतमा दायर गरिएका मुद्धामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हराएर भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रवृत्तिले विशेष अदालतप्रतिको आस्थामा ह्रास आइरहेको टिप्पणी हुन थालेको छ । गत वैशाख २७ गते विशेष अदालतबाट फैसला भएको मुद्धामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले, सञ्जीव शर्मा, अरविन्दप्रसाद जैसवाल, चन्द्रभूषण महतो, धर्मेन्द्रकुमार महतो, अजितमान सिंह, बागेश्वरीकुमार कर्ण, स्मिता कट्टेल र अन्जुकुमारी बस्तेतविरुद्ध २०८० भदौ ३१ गते राजश्व अपचलन गरेर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो । यो मुद्धामा विशेषले संजीव शर्मालाई कसुर ठहर गरेर अन्यलाई सफाइ दियो । ‘अनुसन्धानको क्रममा तथा अदालतसमक्ष बकपत्र गर्दासमेत आफूहरुले आफ्नो नाम र पासवर्ड सञ्जीव शर्मालाई उपलब्ध राएको, सञ्जीव शर्माको आदेशअनुसार बिक्री संशोधन र क्रेडिट बिल दोहोरो तथा बहु पोस्टिङ गर्ने गरेको तथ्य स्वीकार गरी कसुरमा साविती बयान गरेको’ अख्तियारले सर्वाेच्च अदालतमा पुनरावेदन गर्दा उल्लेख गरेको छ ।

यो राजश्व हिनामिना प्रकरणमा २० लाख २८ हजार ४ सय ५५ रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई हानी पुर्‍याएको अख्तियारले अनुसन्धानपछि जनाएको थियो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ पुस मसान्तसम्मका २४ वटा मुद्धामध्ये २० वटा मुद्धामा सर्वाेच्च अदालतमा आयोगले पुनरावेदन गरेको छ । २०७६/७७ मा चार, ०७७/७८ मा तीन, ०७८/७९ मा दुई र ०८०/८१ को पुस मसान्तसम्म ११ वटा मुद्धामा आयोग पुनरावेदन गएको आयोगका प्रवक्ता नरहरि घिमिरेले घटना र विचारलाई बताए ।

भ्रष्टाचार भएका घटनामा आयोगमा उजुरी परेपछि र सप्रमाण पत्रपत्रिकाहरुमा समाचार आएपछि आयोगले अनुसन्धान सुरु गर्दै आएको छ । उजुरीपछि बस्तुगत अध्ययन र आरोपित व्यक्तिहरुसँग छलफल, बयान लिएर प्रमाण पुगेपछि यस्ता मुद्धा विशेष अदालतमा दायर गरिन्छन् ।

‘सनकको भरमा र प्रमाण नपुगी संवैधानिक आयोगले कहिले पनि मुद्धा लिएर अदालत जाँदैन, प्रमाणसहित अदालत पुगेका भ्रष्टाचारका मुद्धामा आयोगलाई हराउँदै भ्रष्टाचारीलाई जिताउने प्रवृत्तिले राम्रो सन्देश गइरहेको छैन’- एक कानुन व्यवसायीले भने ।

‘प्रलोभन’का कारण विशेष अदालतले भ्रष्टाचारीलाई उन्मुक्ति दिन थालेपछि अख्तियार बाध्य भएर सर्वाेच्चको ढोका ढक्ढकाउन पुगेको आयोगका एक कर्मचारीको भनाइ छ । ‘एकै टिम भएर भ्रष्टाचार गर्ने अनि अदालतबाट भने एक जनालाई दोषी देखाएर अरुलाई उन्मुक्ति दिने प्रवृत्ति अदालतमा मौलाउँदै गएको आभाष हुन्छ’- आयोगसम्बद्ध एक कर्मचारीले भने, ‘यहाँ आयोग र विशेष अदालतबीच द्वन्द्व चर्काउने खेल भइरहेको आभाष हुन थालेको छ, र कसका कारण यस्तो भइरहेको छ, त्यसको खोजी गर्नुपर्ने अपरिहार्य भइसकेको छ ।’