समस्त शान्तिप्रेमीका भगवान् गौतम बुद्ध

समस्त शान्तिप्रेमीका भगवान् गौतम बुद्ध


वैदिक सनातन धर्मअनुसार भगवान् बिष्णुका दशअवतार मध्ये नवौँ अवतार गौतम बुद्ध हुनुहुन्छ भन्ने उल्लेख गरिएको छ । गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो । बालक सिद्धार्थको जन्म भएको सात दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले सौतेनी आमाको नामबाट बालकको नाम गौतम रहन गएको हो भन्ने तर्क पनि गरिन्छ । यस्तै, गौतम ऋषिका सन्तान भएकाले गौतम भनिएको श्रुती स्मृतिमा पाइन्छ ।

गौतम बुद्धको जन्म ईशा पूर्व ५६३ वैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनी कपिलबस्तुमा भएको थियो । सिद्धार्थ गौतमका बाबु शुद्धोधन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए भने आमाको नाम मायादेवी थियो ।

सिद्धार्थ संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारणको खोजीको लागि २९ वर्षको उमेरमै गृहत्याग गरी सात वर्षसम्म कठोर तपस्यापश्चात् भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको वृक्षमुनि अधिष्ठानपूर्वक ध्यान गर्दागर्दै ज्ञान प्राप्त भयो र, त्यसपछि वहाँ सम्यक सम्बुद्ध भनेर चिनिन थाल्नुभयो । त्यसपछि वहाँले नेपाल र भारतका विभिन्न ठाउँ पुगी दुःख निवारणसम्बन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न लागिपर्नु भयो । वहाँको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को वैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात् जन्मदिनकै दिन भएको थियो । उहाँले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको हो ।

वैदिक सनातन धर्मअनुसार भगवान् विष्णुले पृथ्वीमा विभिन्न अवतार लिनुभएको थियो, त्यसमध्ये नवौँ अवतार बौद्ध अवतार हो । हिन्दुहरूले भगवान् बुद्धलाई नारायणकै रूपमा पुजाअर्चना गर्ने गरेका छन् । बौद्ध धर्मालम्बी र हिन्दु धर्मालम्बी दुवैले बुद्धलाई भगवानको रूपमा पुज्दै आएका छन् । गौतम बुद्ध जन्मिएको स्थान कपिलवस्तुदेखि ज्ञान प्राप्त गरेको स्थान बोधगया, मृत्यु भएको स्थान भारतकै कुशीनगर सबैलाई वैदिक सनातनी हिन्दु धर्मालम्वी र सनातनी वौद्ध धर्मालम्वीहरूले पवित्र स्थानको रूपमा लिने गर्दछन्, त्यस क्षेत्रलाई तीर्थको रूपमा लिएर ध्यान, जप, यज्ञ, पुजा, अर्चना गर्ने गर्दछन् । नेपाल सरकार र छिमेकी मुलुक भारतले बुद्धसर्किट बनाउने गुरुयोजना पनि अगाडि सारेका छन् ।

शान्तिका प्रतीकको रूपमा गौतम बुद्धलाई लिने गरिन्छ । सिद्धार्थ गौतम शान्त तथा चिन्तनशील स्वभावका भएको शास्त्रहरूमा उल्लेख गरिएको छ । प्राणीलाई रोग लाग्नु, वृद्ध हुनु तथा जन्मेपछि मृत्यु हुने कुराले वहाँलाई चिन्तित बनाएको थियो । यस्तो चिन्ता निराकरणको लागि वहाँ २९ वर्षको उमेरमा राजदरबार, पत्नी (यशोदा) र पुत्र (राहुल), राजपरिवार सबैलाई त्यागेर सत्यको खोजीमा दरबारबाट बाहिर निस्कनुभएको थियो । यस कार्यलाई महाभिनिष्क्रमण भनिन्छ । वहाँको गृहत्याग पनि वैशाख पूर्णिमाका दिन नै भएको थियो ।

वैशाख पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञानको खोजिमा निस्कनु, बुद्धत्व प्राप्त हुनु तथा सोही दिन बुद्धको मृत्यु समेत हुनुले यस दिन बुद्धका सबै पक्षसँग सम्बन्धित भएकोले पनि यसको विशेष महत्व रहेको पाइन्छ । बुद्धले ज्ञान प्राप्त गरेपछि बुद्ध धर्म फैलिँदै गयो । आज संसारका धेरै मुलुकमा यस धर्मका अनुयायीहरू छन् । गौतमबुद्धकै सम्झनामा वर्षेनी बुद्धजयन्ती मनाउने गरिन्छ ।

नेपालमा बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरूले विशेष उत्सवका साथ मनाउने गर्दछन् भने हिन्दू धर्मावलम्बीले विष्णुकै अवतारको रूपमा श्रद्धा गर्ने र, उनीहरूले पनि धुमधामका साथ गौतमबुद्धको पूजा गर्ने गर्दछन् । बौद्ध भिक्षु-भिक्षुणीहरू, श्रद्धालु उपासक-उपाशिकाहरू र दर्शकका साथमा भगवान बुद्धको प्रतिमालाई खाटमा राखेर जात्रा गर्दै लुम्बिनी वरिपरि बाजागाजासहित परिक्रमा गराउने चलन चल्दै आएको छ । बुद्धलाई विष्णुकै नवौं अवतारका रुपमा राखेर अनेक पुराणहरू लेखिएका हुँदा केवल बौद्ध धर्मका अनुयायी मात्र नभएर परम्परागत सनातन धर्मावलम्बीहरू पनि यसदिन श्रद्धापूर्वक बुद्धको सम्झनामा नतमष्तक हुन्छन् ।