बीआरआई कार्यान्वयनमा एमाले नेता डा. भट्टराईको जोड

बीआरआई कार्यान्वयनमा एमाले नेता डा. भट्टराईको जोड


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार बनाउन सकिने जिकिर गरेका छन् ।

सो पार्टीको परराष्ट्र मामिला विभागले आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्धाहरु’ विषयक छलफलमा डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न आर्थिक कुटनीतिमा केन्द्रित भएर निरन्तर संवाद गरिनुपर्नेमा जोड दिए ।

मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता त कहिले कता झुकाव राख्न नहुने उल्लेख गर्दै उनले वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक हिँडाउनुपर्ने एमालेको नीति रहेको उल्लेख गरे । भारतसँगका असमान सन्धि असमान र असान्दर्भिक रहेकाले परिमार्जन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम् लाभ लिनुपर्ने डा. भट्टराईको तर्क छ । छलफलमा राष्ट्रियसभाका सदस्य डा. अञ्जान शाक्यले बदलिँदो परिवेशमा एमालेको विदेश नीति सुस्पष्ट रहेको बताइन् ।