पूर्वाधारको पर्खाइमा कोरला नाका

पूर्वाधारको पर्खाइमा कोरला नाका


उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीयवासी र पर्यटक समस्यामा परेका हुन् ।

चार वर्षपछि खुलेको कोरला नाकाको नेपालतर्फ आवश्यक पूर्वाधार नहुँदा व्यावसायिक लाभ लिन नपाएको लोमान्थाङ्का व्यवसायी टसी नर्बु गुरुङले बताए । ‘चीनतर्फ सबै पूर्वाधार छन्, नेपालतर्फको सिमानामा भन्सार, सामान भण्डारण, सुरक्षा निकायका लागि भवनलगायतका पूर्वाधार बनेको छैन, त्यसैले कोरला नाका व्यावसायिकरुपमा चल्न सकेको छैन’, उनले भने ।

चीनले एक दिनमा एक जना मात्र जान पाउने र गाडी लैजान नदिने नियम बनाएको छ । झोला र बोरामा अटाउने सामान ल्याउने गरिएको व्यवसायी गुरुङले बताए । चिनियाँ बजारबाट सामान किनेर नेपाली भूगोलमा गाडीमा ल्याउनुपर्दा झन्झट हुने व्यवसायी मिना गुरुङको भनाइ छ । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किमी तल नेचुङ भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट हुने गुरुङ बताउँछिन् ।

नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थितिका लागि भवन, खानेपानी, सञ्चार सुविधा र शौचालयको तत्कालै व्यवस्थापन गर्नुपर्ने लोमान्थाङ-१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताए । ‘नाकामा प्रहरीको उपस्थितिका साथै नेपाली गाडी चीनको बन्दरगाहसम्म पुग्न दिने र एक दिनमा एकपटक मात्र चीनतर्फ जान पाउने नियम हटाएमा सहज हुने थियो, यहाँ १० किमी तलबाट पिउने पानी ओसार्नुपर्छ’, उनले भने ।

कोरला घुम्न आउने पर्यटक र व्यापारीका लागि छोसेरका व्यवसायीले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पिठो, चिउरा, चाउचाउ, जडीबुटी, पश्मिनालगायत सामान निर्यात गर्न सकिने सम्भावना छ । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान निर्यात हुन सकेको छैन ।

चीनतर्फ निर्मित भवनभित्र पसलहरु छन् । चीनले कोरलासम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जारी गरेको प्रस्थान प्रवेशपत्र भएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा कोरलाको चिनियाँ बजार जान पाउँछन् । करिब एक हजार जनाले प्रस्थान प्रवेशपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्णरूपमा बन्द भएको थियो । त्यसअघि कोरलामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकटोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङवासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भए पनि व्यावसायिकरुपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको खाँचो रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीनले गत कात्तिकमा १० जना अटाउनसक्ने चार वटा कन्टेनर उपलब्ध गराएको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सुरक्षाकर्मी त्यहाँ गएको अवस्थामा कन्टेनरलाई प्रयोग गरिएको र प्रदेश सरकारको सहयोगमा ‘प्रिफ्याब’ भवन निर्माण प्रक्रिया अघि बढाएको बताए । पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले रु ५० लाख बजेट पठाएको छ । तीनकोठे ‘प्रिफ्याब’ भवन बनाउन ठेक्का आह्वान भइसकेको र चालु आर्थिक वर्षभित्र तयार हुने पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।

तस्बिर : रासस