विद्युतीय दुईपाङ्ग्रे गाडीका अब्बल मेकानिक

विद्युतीय दुईपाङ्ग्रे गाडीका अब्बल मेकानिक


  • सुरेन्द्र सुवेदी, काठमाडौं

स्व-सिकाइबाट आत्मनिर्भर बन्दै आएका सल्यानको शारदा-६ का सन्दिप विष्ट देशकै अग्रणी मेकानिक मानिन्छन् । चीनमा निर्मित विद्युतीय साइकल, स्कुटर र मोटरसाइकल मर्मतमा पारंगत उनी आफ्नै सिकाइबाट बिग्रिएका विद्युतीय दुईपाङ्ग्रे गाडी बनाउन राजधानी उपत्यकाभित्रका सबै स्थान पुग्ने गरेका छन् ।

२०६७ देखि राजधानीमा स्वरोजगार बन्न मेकानिकको सीप सिक्दै अहिले आफ्नै मर्मत सेन्टर सञ्चालन गर्न सफल भएका उनले शुन्य लगानीमा थालेको मर्मत सेन्टरमा अहिले करिव १० लाख रुपैयाँबराबरका सामानको जोहो गरिसकेका छन् ।

२०५२ मा अमरबहादुर र नेफा विष्टका दोस्रो सन्तानको रुपमा जन्मिएका सन्दिपले डिल्लीबजारको विजय स्मारकबाट प्लस टु पूरा गरेका छन् भने हाल चाबहिलको पशुपति क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् । अनामनगरमा रहेको क्लिन इनर्जीमा साइकल स्कुटर सिक्दै मर्मतसमेत गर्न थालेका उनको अनामनगरमै रहेको मर्मत केन्द्रमा दैनिक २० वटासम्म मर्मतका लागि साइकल, स्कुटर र मोटरसाइकल आउने गरेका छन् ।

घरमा वा बाटोमा बिग्रिएका त्यस्ता साधनलाई उनी त्यहीँ पुगेर पनि मर्मत पनि गरिदिन्छन् । मासिक ६० हजार रुपैयाँको रेन्जमा आय हुने गरेको विष्टले घटना र विचारलाई बताए ।

उपत्यकामा अहिले यस्ता मर्मत केन्द्र ९–१० वटामात्र छन् । ती मर्मत केन्द्रका मेकानिकमध्ये विष्ट नै पहिलो भएको बताउँछन् । उपत्यकामा विद्युतीय दुईचक्के सवारी साधन करिव २० हजार रहेको अनुमान छ ।

सुरुका दिनमा उनसँगै रहेर काम सिकेका उमेश धिमाल भने झापाको दमकमा रहेर इलेक्ट्रिक रिक्सा मर्मत गर्दै आएका छन् । उनीहरू दुई जना भएर साइकल, स्कुटर र मोटरसाइकल चीनबाट नेपाल आयात हुन थालेपछि विद्युतीय मेकानिक बन्न आफैंले सीप सिकेको विष्टको भनाइ छ ।