अदालतमा उपस्थित हुन सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन

अदालतमा उपस्थित हुन सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिँदै यस्तो गम्भीर प्रकृतिका अभियोग लागेका अन्यमाथि पनि छलफल गर्न माग गरेको छ ।

यही जेठ ११, १२, १३ र १४ गते बसेको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद बस्नेतलाई कानुनबमोजिम अदालतमा उपस्थित हुन निर्देशन दिएका हुन् । उनले यस्ता गम्भीर प्रकृतिका अभियोग लागेका र तथ्यहरू समेत सार्वजनिक भएका अन्यमाथि पनि शीर्घ छानबिन र कारबाहीका लागि माग गरेका छन् ।

‘सांसद बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँ समेत सञ्चालक रहेको कष्णासार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ, पार्टीले यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ’– बैठकपछि राप्रपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

राप्रपा बैठकले पार्टीले सरकारलाई बुझाएका विभिन्न ४०बुँदे मागपत्र सम्बोधन नगरेको भन्दै पुनः ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।