पेशागत बीमा अभिकर्ता सङ्घसँग अन्तरक्रिया

पेशागत बीमा अभिकर्ता सङ्घसँग अन्तरक्रिया


नेपाल बीमा प्राधिकरणले पेशागत बीमा अभिकर्ता संघसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा आफ्नो धारणा राख्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधिअनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए ।

अध्यक्ष सिलवालले भने, ‘संसारमै डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नैपर्छ, पेशागत बीमा अभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्छ ।’

बीमामार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ-आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ, बीमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफै विस्थापित हुन्छन् ।’

अध्यक्ष सिलवालले बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बीमा सम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बीमा अभिकर्ताहरूलाई आग्रह पनि गरेका छन् ।

नेपाल बीमा प्राधिकरण, संचालक समितिका सदस्य कपिलदेव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदैआएको स्मरण गरे ।

कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेशागत बीमा अभिकर्ता सङ्घका महासचिव ओम केसीले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुती गरिएको थियो ।