शिखर सम्मेलनमा बाइडेनको अनुपस्थिति पुटिनलाई समर्थन गरेसरह हुने जेलेन्स्कीको दुःखेसो

शिखर सम्मेलनमा बाइडेनको अनुपस्थिति पुटिनलाई समर्थन गरेसरह हुने जेलेन्स्कीको दुःखेसो


स्विजरल्याण्डमा हुनलागेको शान्ति शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुपस्थिति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गरेजस्तै हुने भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गुनासो प्रकट गरेका छन् ।

आगामी जुन महिनाको मध्यमा हुने सम्मेलनमा बाइडेनले आफ्नो उपस्थितिबारे अझै पुष्टि गरिसकेका छैनन् । ‘उहाँको अनुपस्थिति राष्ट्रपति पुटिनको समर्थनमा टाउको निहुँराएर ताली बजाउनु जस्तै हुनेछ । शान्ति शिखर सम्मेलनलाई राष्ट्रपति बाइडेनको आवश्यकता छ, र अमेरिकी प्रतिक्रिया कुरीरहेका अन्य नेतालाई पनि उहाँको आवश्यकता छ’, जेलेन्स्कीले ब्रसेल्स यात्राको क्रममा भनेका छन् ।

विश्वका दर्जनौँ नेताले शिखर सम्मेलनमा भाग लिने जिकिर गर्दै जेलेन्स्कीले यस सम्मेलनमा सहभागी जनाउनु वा नजनाउनु युक्रेनमा शान्ति वा युद्ध चाहनु बीचको छनोट भएको तर्क गरे ।

सम्मेलनमा मस्कोको सहभागितालाई अस्वीकार गरेर पुटिनले शिखर सम्मेलनलाई विफल बनाउन खोजेको आरोप जेलेन्स्कीले लगाएका छन् ।