बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति

बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुऱ्याएको छ । ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताए । ‘खोपारा क्षेत्रको पाखोमा पहिरो गएपछि दुई घण्टासम्म खोला सुुक्ने र बाढी आउने गरेको थियो, गेग्रानसहितको बाढीले इन्टेकमा थुप्रिएर बाँधको भौतिक संरचनामा क्षति पुगेको हो’, उनले भने ।

दुई वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परिक्षण उत्पादन गर्ने तयारी गरेको थियो । करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुऱ्याएको क्षतिका कारण परिक्षण उत्पादन सुरु गर्ने समयतालिका प्रभावित बनेको आयोजनाका इञ्जिनियर आयुष भट्टराईले जानकारी दिए । उनका अनुसार बाँध, पाइपलाइन, विद्युत्गृह निर्माण सकिएको छ भने आयोजनाको उपकरण जडान र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँध बनाएको थियो । बाँध नजिकै ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माण भएका छन् ।

बाँधबाट विद्युत्गृहसम्म तीन हजार ६ सय मिटर लामो पाइपलाइन जडान सकिएको उल्लेख गर्दै इञ्जिनियर भट्टराईले विद्युत्गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको जानकारी दिए ।

सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा खसालिने योजना रहेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले नारच्याङको बेंसीगाउँबाट लेकगाउँ हुँदै बाँध र रेलेखर्कस्थित विद्युत्गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाइएको अन्नपूर्ण-४ का कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाको भनाइ छ ।

तस्बिर : रासस