आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेठ २०८१ शुक्रबार, ३१ मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेठ २०८१ शुक्रबार, ३१ मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८१ ज्येष्ठ १८ गते तद्अनुसार सन् २०२४ मे ३१ तारिख शुक्रबार ज्येष्ठ कृष्ण अष्टमी तिथि ८ः४७ पर नवमी तिथि शतभिषा नक्षत्र ५ः५१ पर पूर्वाभाद्रपद नक्षत्र विषकुम्भ योग तैतिल करण आनन्दादिमा सौम्य योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ मा हुनेछ । धूम्रपानरहित दिवस ।

आजको राशिफल

मेष – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्ला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ भने सन्तान पक्षबाट प्रशन्नता मिल्नेछ । छरछिमेकमा भने केही असमझदारी बढ्न सक्छ, सचेत रही व्यवहार गर्नु हितकर होला । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्नेछ । आर्थिक काममा सफलता प्राप्त हुनेछ भने नयाँ आयस्रोत प्राप्त हुनसक्छ । समग्र पक्षमा अनुकूलता वृद्धि हुने दिन छ ।

वृष – समय उत्साहवर्द्धक एवम् मनोरञ्जनपूर्ण रहला । आफन्तजनको साथ–सहयोगबाट मनोकूलको काम बन्नेछ । पारिवारिक समस्याको समाधान हुनुका साथै बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ भने वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्न सक्छ । टाढाको यात्रा हुनसक्ने योग छ । पितृधन प्रप्ति हुनेछ । व्यापार–व्यवसायमा हुनुहन्छ भने विशेष लाभ लिन सकिने दिन छ ।

मिथुन – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि पराक्रम बढ्नुका साथै रोग र शत्रुमाथि विजय प्राप्त होला । रचनात्मकताको भाव पैदा हुनेछ । सामाजिक कामको दायित्व बढ्ला । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ । यात्रा पनि सफल रहनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । पदको आशा देखाउनेले चाहिँ धोका दिन सक्छ, ध्यान राख्नुहोला ।

कर्कट – आजको दिन काममा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । दौडधुप बढ्ला । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्दा अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने सम्भावना छ । सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह – प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ भने व्यापार-व्यवसायमा लाभ नै मिल्ने देखिन्छ । प्रयास गर्दा उठ्नुपर्ने रकम हातलागी हुने योग छ । साझेदारीको काम बढ्नेछ । आरोग्यता रहनेछ भने रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनाले मन प्रफुल्ल रहला ।

कन्या – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्ला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएको विशेष कार्य सम्पादन हुनसक्ने योग छ । कृषि क्षेत्रबाट भने सामान्यमात्र लाभ प्राप्त होला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइ तथा आफन्तजनको साथ-सहयोगले कार्यगति बढ्नेछ ।

तुला – आम्दानी बढ्ने र व्यवसायबाट विशेष फाइदा उठाउन सकिने समय भएपनि सहयोगको आशा देखाउनेहरूबाटै धोका हुनसक्ने सम्भावना रहेकोले अत्यन्त सावधानीका साथ कार्यकदम अघि बढाउनु होला । आजको दिन लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । स्वास्थ्यमा सामान्य कमजोरीको अनुभूति हुनेछ, तर ज्मिमैवारी भने कम हुनेछैन । प्रेमभाव बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – आजको दिन खर्चको मात्रा केही बढेपनि प्रयास गर्दा रोकिएका काम बन्नेछन् । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । आफन्त एवम् निकट मित्रजनको साथ–सहयोग प्राप्त हुनाले पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिक एवम् पराक्रम प्रदर्शन कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण रहला ।

धनु – आम्दानी बढ्ने तर पारिवारिक कार्यमा खर्च पनि केही बढ्ने देखिन्छ । जरुरी कार्यमा समेत आवश्यक उत्साह नरहन सक्छ । मातापिता र आफन्तजनको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद बन्ने र योग छ । मान महत्व प्राप्त हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्य सार्थक हुनेछ । बौद्धिक र रचनात्मक काम बन्ने देखिन्छ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । व्यावसायिक काममा खर्च बढ्नेछ तर सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिएला, धैर्य राख्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता कायम रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – आजको दिन स्वास्थ्यमा केही कमजोरी महसूस भएपनि परिश्रम धेरै गर्नुपर्ने देखिन्छ । काममा सफलता भने हासिल हुने समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा सोचेजस्तो लाभ मिल्नेछैन, तर हानी नै हुने पनि होइन । प्रतिष्ठित काम सम्पादन गर्ने पाइने योग छ । मिठो भोजन प्राप्त होला ।

मीन – व्यस्तता बढ्नेछ । काममा केही चुनौती देखिए पनि आज समयको सदुपयोग हुनेछ । मित्रजनले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । विभिन्न अवसर जुर्न सक्छ, तर समय चिनेर अघि बढ्न नसक्दा अवसर फुत्कन सक्छ, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ ।