पशुपतिको गुरूयोजना तयार : असारदेखि चारै ढोका खुला

पशुपतिको गुरूयोजना तयार : असारदेखि चारै ढोका खुला


धार्मिक एवं परम्परागत पूजा तथा अनुष्ठान विधिलाई कायम राखेर आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताएका छन् । उनले भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको बताएका हुन् ।

मन्त्री तामाङले दक्षिण एशिया र विश्वका विभिन्न देशबाट आउने हिन्दू धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ परम्परालाई कायम राखेर व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम ल्याइएको जानकारी दिए ।

‘धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन धेरै कुरा व्यवस्थित गर्नुपर्नेछ । अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाएका हौँ’, उनले भने ।

कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले प्रत्येक दर्शनार्थीलाई व्यवस्थित रुपबाट पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था मिलाउने मन्दिर तथा पूजा व्यवस्था नियमावलीअनुसार यो निर्णय गरिएको बताए ।

उनका अनुसार अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म खुला गरिन्छ । ‘दर्शनार्थीको सङ्ख्या बृद्धि भएपछि सजिलो गरी दर्शन गर्न असुविधा भइरहेको गुनासो आयो । त्यसैले परम्परागत धार्मिक पक्षलाई कायम राखेर दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी चारवटै ढोका खुला गरिएको हो, हामीले व्यवस्थापकीय पक्षलाई नियमावलीअनुसारै व्यवस्थित गरेका हौँ’, सदस्यसचिव थापाले भने ।

डा. थापाले पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने बताएका छन् । साथै हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए । महाशिवरात्री पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै मन्दिरका चारै वटा ढोका खुला गरिन्थ्यो ।

गुरूयोजना तयार

संस्कृतिमन्त्री तामाङले धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरको गुरूयोजना तयार गरिएको बताएका छन् । उनले गुरूयोजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै जाने उल्लेख गरे।

‘कतिपय काम विगतको निर्णयका आधारमा कार्यक्रमिक रुपमा अघि बढाउनुपर्ने हुन्छ । कतिपय काममा नीतिगत पक्षमा सुधारमार्फत अघि बढाउनुपर्ने छ । क्रमशः काम अघि बढाउँदै छौँ’- उनले भने ।