‘नेताहरू राजासित वार्तामा बस्नुपर्छ’

‘नेताहरू राजासित वार्तामा बस्नुपर्छ’


धादिङको तत्कालिन सलाङ गाविसमा पर्ने बुङचुङ बजारनिवासी सन्तोष सिलवालको पहिचान आज सन्तोष ‘राजावादी’को रूपमा स्थापित भएको छ । उनले आफ्नो शरीरमा राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्बिर अङ्कित गरी ट्याटु खोपेका छन् । आफ्नो थर नलेखी नामको पछिल्तिर ‘राजावादी’ विशेषण जोड्दै आएका उनी धादिङकै मिन्दुका मावि नलाङ बैरेनीबाट माध्यमिक कक्षा पूरा गरी राजधानी पसेका युवा हुन् । सरस्वती बहुमुखी क्याम्पसबाट उच्च शिक्षा लिएका ‘राजावादी’ देशमा राजतन्त्र बहाली हुनेमा ढुक्क देखिन्छन् ।

सन्तोष राजावादी २०६४ सालदेखि नै देशमा राजा (राजसंस्था) पुनः ल्याउनुपर्ने भन्दै राजसंस्था पुनःस्थापन अभियानमा सक्रिय छन् । र, उनको नेतृत्वमा अनवरत तत्पर फौज (एटिएफ) समूह स्थापना भएको छ र, राजसंस्था पुनः फर्काउन देशभर हजारौँको संख्यामा एटिएफ समूहका युवाहरुलाई उनले सक्रिय राखेका छन् ।

देश गणतन्त्रमा गएको समयमा राजाको पक्षमा वकालत गर्दै आएका उनका बुबा पहिलादेखि नै राप्रपामा आवद्ध थिए । त्यहीँबाट राजसंस्थाप्रति आकर्षित भएको बताउने सन्तोषको नेतृत्वमा बनेको समूहले राजसंस्था पुनर्स्थापनाका लागि बेला-बेला पैदल ऱ्याली, मोटरसाइकल ऱ्याली तथा जुलुसको आयोजना गर्दै आएको छ । साथै संविधान दिवस र गणतन्त्र दिवसमा विरोधका कार्यक्रमहरू गरिरहेको छ । राजा र रानीको जन्मोत्सवमा सो समूहले उत्सवजन्य कार्यक्रमहरू गर्ने अनि ‘राजसंस्था किन आवश्यक छ ?’ जस्ता विषयमा विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

‘राजा पुनः देशमा आउने पक्का छ, छिट्टै राजसंस्था पुनर्स्थापना हुन्छ । जब-जब देशमा ठूलै संकट पर्छ तब-तब श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको आवश्यकता पर्दछ । २००७ साल होस्, या २०५८ साल होस् या अबका दिनमा पनि…’- उनले घटना र विचारसित जिकिर गरे ।

देश गणतन्त्रमा गएपछि हत्या-हिंसादेखि भ्रष्टाचारले ध्वस्त नै बन्न लागेको र नेपाल भन्ने देश रहने कि नरहने अवस्थामा पुगेको भन्दै नेपालमा राजसंस्थाको विकल्प नभएको सन्तोषको भनाइ छ । उनको जतिछिटो देशमा राजसंस्थाको बहाली हुन्छ, त्यति नै नेपाल र नेपालीलाई फाइदा पुग्ने बुझाइ छ ।

उनी बहुदलीय व्यवस्थाको विरोधमा उभिएका छन् । उनी भन्छन्, ‘बहुदलवादी भनाउँदाहरूले देशमा भएका उद्योग धन्दा, कलकारखाना बेचेर खाए, देशलाई अस्थिरताको दलदलमा फसाए, एउटा राजपरिवारको बंश नाश गरे, अर्काे राजपरिवारलाई वनबास पठाए, धर्म संस्कृति मासे, देश करिव २५ खर्ब ऋणमा डुबाए ।’ उनी अगाडि थप्छन्, ‘जनतालाई ऋण नै ऋणमा डुबाए, युवा शक्ति खाडी मुलुकमा बेचे, यतिबेला राज्यले रोजगार दिँदैन, बैंकले लगानी गर्दैन, उधारो उठ्दैन, सामान बिक्दैन, यस्तो अवस्था सिर्जना हुनु यी बहुदल र गणतन्त्रका नाममा भएका विकृति हुन् ।’

सन्तोष राजावादीका अनुसार हिजो माओवादी जंगल पसेर गाउँलेलाई बजार खेदे, अहिले माओवादी बजार पसेर नेपालीलाई विदेश खेदिरहेका छन् ।

हिजो मधेश नेपाल होइन भन्ने सिके राउत र हिंसात्मक क्रियाकलापमा संलग्न विप्लवलाई वार्तामा बोलाएर छलफल गर्ने नेता भनाउँदाहरू देश बचाउने राजासित किन वार्तामा बस्दैनन् ? छिटोभन्दा छिटो राजासित वार्तामा बस, नत्र जनताले नेता भनाउँदालाई लखेट्ने दिन नआउला भन्न सकिन्न ।