बागलुङको कालापातल तामाखानीको सम्भाव्यता अध्ययन

बागलुङको कालापातल तामाखानीको सम्भाव्यता अध्ययन


बागलुङको कालापातल तामाखानी उत्खनन्का लागि विज्ञ टोलीले सम्भाव्यता अध्ययन थालेको छ ।

करिब सय वर्ष अघिसम्म तामा निकालिएको बागलुङको जैमिनी नगरपालिका-३ कालापातलको तामाखानीमा खानी तथा भूगर्भ विभागको अनुमतिमा विदेशी प्राविधिकसहितको समूहले प्रारम्भीक सम्भाव्यता अध्ययन सुरू गरेको जैमिनी नगरपालिका प्रमुख हरिहर शर्माले जानकारी दिएका छन् ।

हाल विभागको अनुमतिमा मोहङ मिनिरल्स र शुभम गु्रपले प्रारम्भीक अध्ययन गरिरहेको छ । जैमिनी नगरपालिका-३ का वडाअध्यक्ष कृष्ण भुजेलले पुर्खाले घरेलु हात हतियारले तामा निकालेको भग्नावशेष सुरुङमा अहिले प्राविधिक समूहले तामाको यथार्थ अवस्था पत्ता लगाउन अध्ययन थालेको बताए ।

शुभम ग्रुपका निर्देशक अशोक विकले पनि हाल खानीमा सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिँदै भनेका छन्, ‘अहिले प्रारम्भीक अध्ययन सुरु गरेका छौँ, अध्ययनका लागि करिब ६ महिना लाग्ने हाम्रो अनुमान छ । त्यसपछि यहाँ तामा उत्खनन गर्न सकिने अवस्था रहे नरहेको विषयमा अनुमति दिने निकायलाई अध्ययन प्रतिवेदन बुझाउछौँ ।’

तीन वर्षअघि बागलुङ र म्याग्दीका विभिन्न स्थानमा तामाखानीको प्रारम्भीक सम्भाव्यता अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीपछि सो कार्य स्थगित गरेको थियो ।

rss