मच्चिए-मच्चिए अनि थच्चिए ‘देवर बाबु’हरू !

मच्चिए-मच्चिए अनि थच्चिए ‘देवर बाबु’हरू !


सहकारी ठगी प्रकरणको मुद्दा चर्काउँदै निकै समयदेखि नेपाली काङ्ग्रेसले ठप्प पारेको संसद् हात्ती आयो हात्ती आयो पुस्सा भन्ने उखान चरितार्थ पार्दै फेरि सुचारु भएको छ । कांग्रेसका नेताहरू रवि लामिछानेलाई ठग सावित नगरेसम्म सदन चल्नै नदिने हुङ्कार गर्दै सहकारी प्रकरण चर्काइरहेका थिए । तर, अन्ततः कांग्रेसका युवा नेताहरु चिसै पानीले नुहाउन तयार भए ।

पार्टीभित्र युवाशक्तिको इज्जत-कदर शीर्ष भनिएका नेताले गर्न सकेनन् । कारण हो- आरजु राणा ! आरजुको नाम भ्रष्टाचारका अनेक प्रकरणमा जोडिएर आएका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको मामलामा जेल जानबाट बाल-बाल जोगिएपनि आरजुमाथि खतराको तरवार झुण्डिरहेकै छ । रवि लामिछाने गृहको कुर्चीमा रहँदासम्म आरजुलाई चैनको निन्द्रा नपर्ने प्रष्टै छ । कुरोको चुरे खोतल्दै जाने हो भने कुरा धेरै उप्कन सक्छन् । छोटोमा भन्नुपर्दा संसदमा कुर्लिने कांग्रेस सांसदहरूको घाँटी एकाएक सुक्नुमा पार्टीसभापति शेरबहादुर देउवाकै अभीष्टले काम गरेको छ र, यसको मूल जरो उनै आरजु हुन् ।

आफ्ना हनुमानसरहका भक्त रमेश लेखकमार्फत देउवाले सबै कांग्रेसी सांसदको शिर झुकाइदिए । लामिछानेको मामलामा लेखक पहिल्यैदेखि जिब्रो चपाउँदै थिए, अन्त्यमा सिङ्गै काङ्ग्रेसलाई नै गिराइदिए । युवा नेता कहलिएका महामन्त्रीहरू हिस्स परेर हेरिरहे ।

साँच्चै, नेपाली काङ्ग्रेस यतिसम्म गिर्छ भन्ने पंक्तिकारलाई लागेको थिएन । त्यस्तो ऐतिहासिक विरासद बोकेको पार्टी अब यसभन्दा तल त गिर्ने ठाउँ पनि बाँकी नराखेर स्खलित भएको महसुस भइरहेको छ । सहकारी ठगीको विषय जोडेर लामिछानेका विरुद्ध जेहाद छोड्नु एकप्रकारको मुर्खता थियो । सहकारीमा ठगी भएकै छ, तर यो आजमात्र नभइ उहिल्यैदेखि चलेको छ । खास भन्ने हो भने खुद काङ्ग्रेस र एमालेजस्ता दलमा सम्बद्ध भएका पात्रहरू सहकारीको रकम अपचलन तथा ठगीमा बढ्ता संलग्न रहेका छन् । आज जति पनि सहकारी सञ्चालकहरू गरिव नेपालीको रकम ठगेर फरार भएका छन्, तिनको एक-एक नाम केलाउँदा कांग्रेसका आफ्नै मान्छे धेरै डामिने पक्कापक्की छ ।

यो यथार्थ नबुझी या बुझेर पनि बुझपचाएर कांग्रेसी सांसदले जसरी सदनमा कोकोहोलो मच्चाए, आज त्यो आफ्नै लागि प्रत्युत्पादक बन्ने खतरा बढेको छ । लामिछानेको नाममा त्यसरी नगर्नु बबण्डर गरिसकेपछि अडानमा रहन सकेको भए केही इज्जत थामिन्थ्यो होला ! सभापति देउवासँग राय बझाएर स्ट्याण्ड लिन सकेको भए जनता र कार्यकर्ताले पनि धेरथोर पत्याउने थिए । अब त जनमानसले आरोप लगाए जस्तै ‘भाउजुका खाँट्टी देवर’ ठहरिन पुगे युवा नेताहरू !