श्रीलङ्कामा मनसुनी आँधीबाट २६ को मृत्यु, सहयोगका लागि सेना परिचालन

श्रीलङ्कामा मनसुनी आँधीबाट २६ को मृत्यु, सहयोगका लागि सेना परिचालन


श्रीलङ्कामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सेनालाई बाढी र पहिरोबाट विस्थापित हजारौँलाई सहयोग गर्न आदेश दिएको छ ।

मनसुनी वर्षा र पहिरोमा परी ४२ जना घाइते भएको र मुलुकका २५ मध्ये २३ जिल्लामा बाढीबाट एक लाख ३० हजार मानिस घरबारविहीन हुनुपरेको कनिष्ठ रक्षामन्त्री प्रेमिता तेनाकुनले संसद्लाई जानकारी दिएकी छन् ।

‘हामीले राहत कार्यमा सहयोग गर्न सेना परिचालन गरेका छौँ, राहतको आपूर्तिमा सहयोग गर्न डुङ्गाहरू तैनाथ गरिएको छ’, उनले भनेकी छन् ।

श्रीलङ्का सिँचाइ र जलविद्युत्का लागि मौसमी मनसुन वर्षामा निर्भर छ । विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्वमा गर्मी बढेकाले मुलुकले बारम्बार बाढीको सामना गर्नुपरेको चेतावनी दिएका छन् ।

श्रीलङ्काको प्रमुख मौसम ब्युरोले वर्षा कम हुने पूर्वानुमान गरेको छ तर बाढीको खतरा कम नभएको बताएको छ । तराईका क्षेत्रहरू जलमग्न भएका छन् ।

थप वर्षाको सम्भावना रहेकाले सरकारले साताको बिदापछि सोमबार पनि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो र सबैभन्दा नराम्ररी प्रभावित दक्षिणी प्रान्तमा धेरै विद्यालय मङ्गलबार पनि बन्द भएका छन् ।