मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । मधेस प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत पऱ्यो भने विपक्षमा ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो । प्रदेशसभामा एक सय तीन सांसद उपस्थित थिए ।
मुख्यमन्त्री यादवले डेढ वर्षमा पाँचौँ पटक विश्वासको मत लिँदैथिए । मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले मतदान गरे ।
विसं २०७९ पुस २३ मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । गठबन्धन फेरबदल हुँदा पनि यसअघि मुख्यमन्त्री यादवले चारपटक विश्वासको मत पाएका थिए, तर पाँचौँ पटक विश्वास पाएनन् । योसँगै जसपा नेपालले मधेस प्रदेशमा पहिलो पटक सत्ता गुमाएको छ । प्रादेशिक संरचना लागू भएपश्चात् विसं २०७४ मा भएको पहिलो निर्वाचनपछि मधेसमा लगातार जसपा नेपालले नेतृत्व गरेको थियो ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढलेपछि अब मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणले सरकार बनाउने प्रयास सुरु गरेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्तिलगायत पार्टीले यहाँ जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् ।
पछिल्लो राजनीतिक उथलपुथलसँगै अब मधेसमा पनि अरु प्रदेशमा जस्तै राजनीतिक अस्थिरता सुरु भएको छ । अरु प्रदेशमा केन्द्रीय सत्तासमीकरण फेरबदल भए पनि मधेसमा आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्राथमिकतामा राख्ने उपेन्द्र यादव अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार बाहिर हुनुपरेको छ । जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले पार्टीका सात सङ्घीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रदेखि मधेस प्रदेशमा सत्ता गुमाउनु परेको हो ।
प्रतिक्रिया