दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो


काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।

काठमाडौं-दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

शवनजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका हुन् भने नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको छ ।

प्रहरीले मृतक पुरुष धादिङको सिद्धलेख गाउँपालिका-५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका-५ भक्तपुर बस्ने ३२ बर्षिया सरिता राई भएको खुलेको जानकारी दिएको छ ।