‘जनस्वास्थ्य सुधार्ने हो भने चुरोट र रक्सीका उद्योग बन्द गर्नुपर्छ’

‘जनस्वास्थ्य सुधार्ने हो भने चुरोट र रक्सीका उद्योग बन्द गर्नुपर्छ’


  • विकाश रौनियार, धादिङ

जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमका उपलब्धि, सेवा विस्तारका प्रयास तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ । सरोकारवाला तथा सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालयले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतनामूलक अभियान विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउने योजना प्रस्तुत गरेको हो ।

कार्यक्रममा खोप सेवा, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित मातृत्व, पोषण सुधार, परिवार नियोजन, सरुवा तथा नसर्ने रोग नियन्त्रण, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा समुदायमा आधारित स्वास्थ्य सेवालगायतका क्षेत्रमा आर्थिक वर्षभर हासिल भएका उपलब्धि सार्वजनिक गरियो ।

कार्यक्रमको सहजीकरण गर्दै जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले आर्थिक वर्षभर सञ्चालन गरिएका कार्यक्रम, प्राप्त उपलब्धि तथा तथ्याङ्कसहितको कार्यपत्र प्रस्तुत गरे । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतनामूलक अभियान विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जनस्वास्थ्य प्रवर्द्धनका लागि चुरोट र मदिराको उत्पादन तथा उपभोग नियन्त्रणमा राज्यले कडा नीति अवलम्बन गर्नुपर्ने धारणा राखे । “जनस्वास्थ्यलाई वास्तवमै प्राथमिकतामा राख्ने हो भने चुरोट र रक्सीका उद्योगसमेत बन्द गर्नुपर्ने अवस्था आउँछ,” उनले भने। स्वास्थ्यमा लगानी बढाउँदै जनस्वास्थ्यलाई असर गर्ने वस्तुको नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्य सेवा विस्तार, रोग नियन्त्रण तथा जनस्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा जनस्वास्थ्य कार्यालयले गरेका प्रयासको प्रशंसा गर्दै स्वास्थ्यसम्बन्धी सूचना र जनचेतनामूलक सामग्रीलाई अझ प्रभावकारी रूपमा समुदायसम्म पुर्‍याउन सञ्चारमाध्यम र जनस्वास्थ्य कार्यालयबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाका सहसचिव बिकाश रौनियारले जनस्वास्थ्य कार्यालयले जिल्लाको स्वास्थ्य क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रवाहलाई नागरिकमैत्री, प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजानुपर्ने बताए । साथै, स्वास्थ्यसम्बन्धी आधिकारिक सूचना समयमै सञ्चारमाध्यममार्फत प्रवाह गर्नुपर्नेमा जोड दिए ।

जनस्वास्थ्य कार्यालय धादिङले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा विस्तार, खोप अभियानको प्रभावकारी कार्यान्वयन, मातृ तथा शिशु स्वास्थ्य सुधार, रोग नियन्त्रण तथा स्वास्थ्य सचेतना अभिवृद्धिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

कार्यक्रममा गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुराल, प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशी, वडा नं। १ का वडा अध्यक्ष तारानाथ भण्डारी, वडा नं। ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बद्रीप्रसाद जमकट्टेल लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।