भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा प्रधानमन्त्री सरिक हुने

भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा प्रधानमन्त्री सरिक हुने


मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनेकी छन्- ‘भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउने निर्णय भएको छ । यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।’

संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

यसैक्रममा, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्रीलाई भेट गरी महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरेकी छन् ।

प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाका अनुसार राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका प्रतिनिधिलाई जानकारी दिएका छन् ।

ज्ञातव्य छ, जलवायु परिवर्तनलगायत समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्तिलगायत विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्यूयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो ।