किन बन्द भए चितवनका इँटा उद्योग ?

किन बन्द भए चितवनका इँटा उद्योग ?


चितवन जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भएका छन् । विगतमा ४४ वटासम्म रहेको इँटा उद्योग अहिले पूर्ण रुपमा बन्द भएका हुन् ।

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँमा ४४ वटा इँटा उद्योग सञ्चालनमा थिए, तर ती उद्योग क्रमशः घट्दै अहिले पूर्ण रुपमा बन्द भएका हुन् ।

विगत डेढ वर्षभित्र जिल्लाका सबै इँटा उद्योग बन्द भएको जानकारी दिँदै सापकोटाले आर्थिक मन्दीका कारण इँटाको माग घट्नु र अस्वस्थ प्रतिस्पर्धाले उद्योग बन्द भएको बताए । यससँगै बाहिरी जिल्लाबाट कम गुणस्तरका इँटा आउने र त्यस्ता इँटा सस्तो मूल्यमा दिँदा उपभोक्ता झुक्किएर यहाँको उच्च गुणस्तरको इँटा खपत हुन नसकेको उनको भनाइ छ ।

उद्योग बन्द भएसँगै रु एक अर्बभन्दा बढी नोक्सान भएको सापकोटा बताउँछन् । उद्योग बन्द हुँदा हजारौँले रोजगारी गुमाएका छन् । बाहिरी जिल्लाबाट आउने इँटाको भर पर्नुपर्ने बाध्यता रहेको छ । चितवनमा पूर्वी नेपालका विभिन्न जिल्लाबाट इँटा आउने गरेका छन् ।