उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीसँग मेयर्स फोरमको छलफल

उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीसँग मेयर्स फोरमको छलफल


काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीद्वारा आयोजित छलफल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिसबमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईंहरूको फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ। सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा समेत यससम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ। अब यो काम तीव्रतामा अगाडि बढ्छ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललगायत काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो ।