कान्ति राजपथ पूर्णरुपमा सञ्चालनमा

कान्ति राजपथ पूर्णरुपमा सञ्चालनमा


कान्ति राजपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौं जोड्ने सडक आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक शुक्रबार (२५ जेठ) बिहानबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सो सडकअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका-२ रातोभिरस्थित सडक निर्माण गर्ने क्रममा ढुङ्गामाटो धेरै झरी सडकसमेत भासिएपछि बन्द रहेको सडक मर्मतसम्भारपश्चात् पूर्णरुपमा सञ्चालनमा आएको हो ।

गत वैशाख १६ गतेदेखि बिहान ९ बजेदेखि अपराह्न १२ बजेसम्म र राति ६ बजेदेखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको उक्त सडक आजदेखि पूर्णरुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक भण्डारीको भनाइ छ ।

ललितपुरको टीकाभैरवदेखि तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम गरिएको छ । यस्तै थानकोट-चित्लाङ सडकखण्ड असार २० गतेसम्म दैनिक पाँच घण्टा बन्द रहने छ ।

सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको भन्दै सो सडक दैनिक बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म पूर्णरुपमा बन्द गरेको हो । सो सडक निर्माणका लागि बिएसपी/जयश्री महालक्ष्मी जेभीसँग सम्झौता भएको छ ।