कहाँ गए ती दिन ?

कहाँ गए ती दिन ?


चौतारी पोखराको पहिचान, गौरव, धरोहर जे भनेपनि भएको हुँदा थोरै आधाअधुरो ज्ञान बाँडचुँड गर्ने धृष्टता गरेँ ।

चौतारी आफैमा पुर्ण होइन, चौतारी पोखरी गौचरनको संयुक्त अंग पूरा भएपछि यसलाई चौतारी भनिन्थ्यो । चौतारी पोखरी पाटन (गौचरन) सजिलोको लागि एउटा नाम जे भनेपनि तिनै अवयवको पुर्ण रुप बुझ्नुपर्थ्यो ।

सन्तान नभए, रोगब्याध लागे वा कुनै आकांक्षा भए पूरा होस् भनी भगवानसँग भाकल गर्न आफ्नै निजी जमिनमा चौतारी बनाउने त्यसको पछाडि पोखरी र गौगचरनको लागि जमिन राख्ने त्यसपछि बर पिपलको वैदिक विधिपुर्वक बाजागाजासहित विवाह गर्ने, पोखरीमा पुजाआजासहित मौलो गाड्ने र पाटनमा नुन छरेर गौचरनको निमित्त जनतामा ईश्वर साक्षी राखी समर्पण गर्ने रीत थियो ।

अझ मन र धन भएका मनकारीहरुले चौतारीकै परिसरमा ढुंगाको छाना भएका एक वा दुई तले ठाँटी पौवा, सत्तलसमेत बनाएर निरन्तर मर्मत सम्भार होस् भनी गुठीसमेत राखिदिन्थे । पोखरामा पण्डित पौवा, रानीपौवा आदि ठाउँका नाम यिनै ठाँटी वा पौवाका नाम बाट बनेका हुन् । एक दुइ पौवा पोखरामा अझै धिकिर धिकिर गरेर सास फेरिरहेछन् । ब्यापारमा हिँड्नेहरु तिर्थयात्रीहरु ढाक्रे भरियाहरु यिनै ठाँटी पौवाहरुमा बास बस्ने गर्थे ।

चौतारीको पिपलको फेदमा माटोको घैंटोमा निरन्तर सफा पानी र पिउनको निमित्त बाँसको ढुंग्रो राखिएको हुन्थ्यो । धर्मात्मा आमा दिदीबहिनीहरुको यसमा पानी भर्न तँछामछाड हुन्थ्यो । अझ अक्षय तृतियाको दिनमा त पानीमा जौको सातु खुदो मरिचको धुलो दालचीनीको धुलो मिसाएको सर्बत खुवाउन प्रतिस्पर्धा हुन्थ्यो ।

चौतारीमा चराचुरुंगीको बासस्थान आहार छाहारीमा बटुवाहरुको विश्राम र आवश्यक परे बास, पोखरीमा गाईबस्तुको लागि पिउने पानी, कपडा धुने सागपातमा पानी लगेर तुर्क्याउने,दैवीप्रकोप परे दमकलको काम हुन्थ्यो भने हावामा तथा जमिनमा जलभरणको काम पनि हुन्थ्यो भने पाटनमा घुमफिर बालखाहरुका लागि खेलकुद र चौपायाहरुको चरण हुन्थ्यो । नुन छर्नुको कारण पशुको निमित्त थियो, नुन छरेर पशुको निमित्त छुट्याएको जमिन अतिक्रमण गर्नु क्षतविक्षत पार्नु कठोर राजकीय दण्ड हुन्थ्यो भने यमदण्डको भय त छँदै थियो ।

चौतारीहरुमा पत्थरका छपनीमा खोपेर मंगलाचरण, चन्द्र सुर्य स्वस्तिक चिन्हपछि दाताको विवररण खोपेर गाडिएपछि निर्माताले आफ्नो चौतारी पोखरी पाटनको जमिन सार्वजनिकरुपमा दान गर्थे । हजारौँ पोखरीहरुबाट नाम पोखरा भएको र यस्तै हजारौँ पाटन भएका कारण अझै पनि पोखराका टोल टोलका नाम पाटन छन् ! बाँझापाटन, घारीपाटन, मझेरीपाटन आदि-आदि ।

आज पोखरामा पोखरा छ पोखरी छैनन्, टोलका नाम पाटन छन् तर एउटा पाटन छैनन् । शनिबार महिलाहरु पिपलको पुजा गर्न घन्टौँ परका चौतारामा पुग्छन्, बरपिपल समीहरु दुर्लभ भइसके । कस्को कारणले भए, सबै जानकार भएकाले भनिरहनु परेन । चौतारी पोखरी पाटन नरहेपछि अब पोखरा पोखरा रहेन ।