‘कम्युनिष्ट पार्टीमा अवसरवाद मौलायो’ : झलनाथ खनाल

‘कम्युनिष्ट पार्टीमा अवसरवाद मौलायो’ : झलनाथ खनाल


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आज (२६ जेठ)देखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए ।

नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य रहेको जिकिर गरे । ‘अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ’, उनले भने ।

समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उनले सङ्घीय शासन व्यवस्थामा तिनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरु ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

photo: rss