सिरोहियाले दिएको ‘लोकतन्त्र’ र देशको भविष्य !

सिरोहियाले दिएको ‘लोकतन्त्र’ र देशको भविष्य !


यो वर्षको गणतन्त्र दिवस उत्सव मनाएर भन्दापनि सिरोहिया पक्राउ परेकोमा ‘राष्ट्रिय शोक’ मनाएर गुजार्न विवश देखिए आफूलाई कथित गणतन्त्र/लोकतन्त्रको पक्षधर भन्ने अगुवाहरू ! हरिबंशको भनाइमा नेपालमा लोकतन्त्र सिरोहियाले नै ल्याइदिएका हुन् । त्यसैले उनको पक्राउमा ‘मह’ जोडी रोयो ! काङ्ग्रेस रोयो । प्रधानमन्त्री परिवार रोयो । माधव रोए । पुर्वराष्ट्रपति रोए । जो-जो रोएनन् ती राष्ट्रघाती हुन्, अब देश छोड्दा हुन्छ… राष्ट्र रुवाउन पाइँदैन !

पङ्क्तिकारले आजसम्म भ्रम पालेर बसेको रहेछ । म सोच्थेँ- यो देशमा लोकतन्त्र चन्द्रशेखर, सीताराम यचुरी, गिरिजा, गणेशमान, कृष्णप्रसाद, शेबदे, माधव, ओली, प्रचण्ड, बाबुराम सुर्यबहादुरहरूले लडेर ल्याएका हुन् ! गणतन्त्र आउनुको कारणमा कोही भन्थे उपत्यकाका नेवारको कारण, अझ कोही भन्थे प्रहरीले गोली चलाएको कारण, जनताले जुलुस निकालेको कारण…! तर, यो सब मिथ्या रहेछ । लोकतन्त्र त सिरोहियाले ल्याइदिएका रहेछन् । यो दिब्य र गोप्य ज्ञान दिएकोमा मह जोडीप्रति पङ्क्तिकार लगायत विश्वमा छरिएर रहेका लाखौँ नेपालीले हार्दिक आभार व्यक्त गरेका छन् !

अब लोकतन्त्रको बरदान दिने करिब ‘६५ लाख सिरोहिया’ले देखाउने अन्तिम शक्ति प्रदर्शनको समयसम्म रामवरण, मह जोडी, प्रचण्ड, कांग्रेस, ओली बाँचिरहे त्यसैबेला सोध्नेछु- ‘कस्तो लागिरहेछ सिरोहियाको लोकतन्त्र !?’ केही महिनाअगाडि केही हज्जार कवाडी सिरोहियाहरूले सडकमा ‘बालेन्द्र शाह मुर्दावाद’को नारा लगाइसके । अब कुनै दिन ‘नेपाली जति मुर्दावाद… देश छोड्’ भन्ने नारा लागेमा अस्वाभाविक नमान्दा हुन्छ । नेपालीभाषी र नेपाली टोपी लगाउनेहरूको भविष्य भुटानी शरणार्थीहरूको नियति भोग्नेतर्फ उन्मुख छ । यदि यही पद्धति नेतृत्व वर्ग र निर्वाचन प्रवृत्ति रहीरहे आउने ८४ र ८९ को निर्वाचनपश्चात् नेपाल खण्डित हुने वा विलय हुने पक्कापक्की छ ।

देशको रक्षार्थ नै राजा वीरेन्द्रले गिरिजाले पेश गरेको नागरिकता विधेयक १५ वर्षसम्म रोकेका थिए । त्यही नागरिकता विधेयक गिरिजा, प्रचण्ड, बाबुराम, शेबदे, माधव, ओलीहरूले पारित गरे र, पछिल्लोपटक राष्ट्रपति पौडेलको लज्जास्पद एवम् गैह्रजिम्मेवारपूर्ण ‘सदासयता’को कारण ६५ लाख ‘सिरोहिया’हरूलाई नेपाल कब्जा गर्ने बाटो सहज बनाइदिएका छन् । साथै, प्रचण्डले २० करोडसम्म आफुखुशी योजनामा रकम खर्च गर्न सक्ने अनुमति दिएर वडादेखि केन्द्रसम्मै आफुमुखी नेता, प्रशासक, अभियन्ता, कलाकार, नागरिक समाजका हर्ताकर्ता खरिद गर्न सहज भएको छ । देशमा दोहोरो शासन चलेको छ । सांसद विकास कोषको लागि २ करोडको लागि रोइलो गर्ने सांसदहरू अब सिंहदरबार होइन लैनचौरमा लाइन लागेका छन् । सिरोहिया पक्राउमा जुलुस निकालेर मुर्दावाद भन्नेहरू पनि ‘कुत्तेका चारा’ थाप्नेहरू नै हुन् भन्दा फरक पर्दैन !

सिरोहियालाई धन्यवाद दिनैपर्छ, किनभने ढिलै भए पनि उनले बंशजको नेपाली नागरिकता बोक्ने निधारमा चन्दन र रातो टिका लगाउने नेपाली टोपी लगाउने भ्रष्ट गैह्रजिम्मेवार नेता एवम् प्रशासकको अनुहार ऐनामा देखाइदिए । ‘अरु मारवाडीले घुस खुवाएर नागरिकता लिए’, पूर्वराष्ट्रपतिको सार्वजनिकरूपमा नै साक्षी बकपत्र आयो ! तर, रामवरणले योचाहिँ किन भन्न बिर्सेछन् कि ‘मेरो हजुरबुबा र घाँसीरामको बुबा सय वर्षअगाडि पटनादेखि सँगै हिँडेर नेपाल आएका थिए !’

यादव राष्ट्रपति हुँदा एकपटक पङ्क्तिकार दिल्ली यात्रामा थियो, त्यहाँ टेम्पुचालकले नेपाली हो ? भनेर सोध्दा मैले ‘हो म नेपाली’ भन्ने जवाफ दिएँ । अनि उनले थपे- ‘अच्छा अभि जो राष्ट्रपति हे न रामवरण.. ओ हमारी गावँका हे, उनका दादाजी गावँ छोडकर नेपाल गया हुवा था ।’ यस सन्दर्भमा अब पूर्वराष्ट्रिपतिले बकेको कुरो प्रमाणमा लिने कि नलिने ? अनुसन्धान गर्नुपर्ने कि नपर्ने ?

सिरोहिया व्यक्ति होइनन् प्रवृत्तिका नेता हुन्, जसले तीन दशकदेखि नेपालमा नेतृत्व गर्दै आएका छन् । यो प्रकरणले प्रचण्डको छटपटी बढेको छ, लोकतन्त्रका ‘वास्तविक पिता’ पक्राउ पर्दा ! यस्तो लोकतन्त्र जसले राष्ट्रपतिजस्तो व्यक्तित्वलाई घुसको साक्षी बस्ने र, बकपत्र गर्ने निर्लज्ज सुविधा दिएको छ । यस्तो लोकतन्त्र जसले भ्रष्टाचारलाई संस्थागत गरेको छ । यस्तो लोकतन्त्र जसले देशको भाषा संस्कृति धर्म सामाजिक मुल्य/मान्यता लगायत प्राकृतिक पौराणिक ऐतिहासिक सम्पदाको दोहन गर्छ । यस्तो लोकतन्त्र जहाँ नागरिकको विवेक बिक्छ । यस्तो लोकतन्त्र देशको स्वतन्त्र अस्तित्व, स्वाधीनता, गौरवगाथा, राष्ट्रिय एकता, राष्ट्रको सार्वभौमसत्ता र आत्मनिर्भरताविरुद्ध बन्चरो हान्छ । त्यस्तो लोकतन्त्र जो नागरिकलाई पलायन गर्ने/गराउने नीति निर्माण गर्छ, शिक्षा आर्जन गर्न ऋण नदिने लोकतन्त्रले विदेश जान बिनाधितो ऋण दिन्छ । यस्तो लोकतन्त्र जो देशको सिमा खुम्चिँदा तमासे बन्छ । त्यस्तो लोकतन्त्र जो देशमा स्वदेशीले नभइ विदेशीद्वारा नीति निर्माण गर्छ । त्यस्तो लोकतन्त्र जो देशको स्वाभिमान गिराउने गर्छ । त्यस्तो लोकतन्त्र जहाँ अदालतको (न्यायाधीश)को निर्णय बिचौलियाले लेख्छ । यस्तो लोकतन्त्र जहाँ देशको चौथो पहरेदार सञ्चारजगत विदेशीको हुन्डीमा बाँचेको छ (केही अपबाद बाहेक) । त्यस्तो लोकतन्त्र जहाँ वकीलहरू सार्वजनिक रूपमै सगौरव न्यायाधीशलाई घुस खुवाएको बकपत्र गर्छन् । यस्तो लोकतन्त्र जहाँ प्रहरी प्रमुख नै लिखितरूपमै दलको लागि घुस मागेको सहर्ष स्वीकार गर्छन् । त्यस्तो लोकतन्त्र जसले नेपालको भाविष्य नै धरापमा पारिसक्यो ! सिरोहिया-प्रकरणले हाम्रो समाजको बौद्धिक औकात मात्र होइन हाम्रो कर्मचारीतन्त्र र नेतृत्वको योग्यता÷दक्षताको ऐना पनि देखाइदिएको छ । दोष सिरोहियाहरूको होइन विवेकहीन भ्रष्ट गैह्रजिम्मेवार नेतृत्व र प्रशासकहरूको हो ।

सिरोहिया प्रकरणमा प्रचण्डहरूको अभीष्ट पूरा गर्नेगरी नस्लीय मनोविज्ञान प्रेरित भएको छ, जुन नेपालको लागि दर्दनाक अवस्थाको सुरुवात हुन सक्छ । जानी-नजानी केही व्यक्तिले यो प्रकरणको विषयान्तर गर्ने दुष्प्रयास गरिरहेका छन् । पक्राउ पर्नुअघि, पक्राउ परेपछि र हाजिर जमानीमा छुटेपछि लोकतन्त्रका पिताको चेतावनीपूर्ण भाषा, उनको समर्थनमा सार्वजनिक गरिएको नस्लीय मनोविज्ञानको वक्तब्यले यो देशमा कानुन, संविधान, राज्य र राज्यसंयन्त्र अपाहिज बनिसकेको मात्र संकेत गरेको नभइ माथि उल्लेख गरेझैँ देशको भविष्य नै धुमिल बन्दै गएको छ । सिरोहियालाई असल भनाउन पुर्वराष्ट्रपतिले बाँकी मारवाडीलाई ‘घुस खुवाएर नागरिकता लिएको’ साक्षी बकपत्र सार्वजनिक रूपमा गरिदिएर आगोमा घिउ थप्ने काम गरेका छन्, जसले नेपालको ठुलो वित्तिय पेशा सम्हालेको पक्षलाई अपमान र लज्जित बनाएको छ । किन रामवरण यसरी अवस्था झनै बिगार्ने मानसिकतामा छन् ? प्रश्न गम्भीर छ ।

देश असफल हुनुमा विविध कारण छन्, तीमध्ये आर्थिक दूरावस्था एक हो । आर्थिक दूरावस्था, भ्रष्टाचार र दण्डहीनताको कारण हो । देशमा सुशासन अर्थात् विधिको शासनमा खडेरी परेको छ । सिरोहियाले दिएको लोकतन्त्रमा विश्वको १७औँ जेष्ठदेश नेपाल विश्वकै न्यून स्तरको विवेक भएका नागरिकको दर्जामा सुचित हुनपुगेको छ । देश आफ्नो अस्तित्व बचाउनुपर्ने संकटको डीलमै पुगेको छ । तर देशका पूर्वराष्ट्रपति यादव, नेता, सांसद, कलाकार, अभियन्ता, कैयन कानुनविदहरू ‘सिरोहियाले दिएको लोकतन्त्र’ भन्दै रोइलो गरिरहेछन् ।

देश र नागरिक रोएकोमा यिनीहरूलाई कुनै चिन्ता छैन । एकै रुखमा तीन युवती आर्थिक कारणले झुन्डिँदा यी बोलेनन् । प्रेमकुमारहरूले दिनदहाडै देशको कार्यकारी प्रमुखको अगाडि आत्मदाह गर्दा यिनीहरू बोल्दैनन्/रोक्दैनन् । निर्मला पन्तहरू दैनिक बलात्कृत छन्, तर यिनीहरू बोल्दैनन् । ५ लाख ५० हज्जार गाउँका घर खाली भएको सरकारी तथ्याङ्कले यिनीहरूलाई पोल्दैन । विगत केही वर्षमा नै चार हजार युवाले विदेशमा आफ्नो ज्यान गुमाए, यिनीहरूलाई चिन्ता छैन । तर, सिरोहियाको पक्राउमा प्रवुद्ध भनिएका पत्रकारहरू भोकभोकै मरिने झैँ डाँको छोड्छन् ! मज्जा त के भने देशको कार्यकारिणी प्रमुख निर्दोष र गृहमन्त्रीले मात्र रिस फेरेको भाष्यले प्राथमिकता पायो, के प्रचण्डको जानकारीबिना यो अनुसन्धान वा पक्राउ प्रकरण अगाडि बढेको थियो ? के गृहमन्त्री फगत कोही व्यक्तिमात्र हो ? वा, गृहमन्त्री असफल हुँदा प्रधानमन्त्री सफल हुन्छन् ? यो प्रकरणमा प्रचण्डले जिम्मेवारी नलिने हो भने किन गृहमन्त्री लामिछानेलाई हटाउने साहस गर्दैनन् ?

यसरी देश जातीय/नस्लीय विवादमा फस्दैछ, फसाइँदैछ, जो प्रचण्ड-बाबुरामहरूको कर्मको उपज हो । गम्भीर भएर सोचौँ सच्चा नेपाली कोही छ भने जात, नस्लवाद, दल, पद्धतिभन्दा माथि हुनुपर्छ देश । देशको भविष्य सुनिश्चित गर्ने हो भने निर्वाचन पद्धति, वर्तमान नेतृत्व वर्ग र पद्धतिमै आमुल परिवर्तन गर्नु अनिवार्य छ । अन्यथा सिक्किमीकरणको नियति भोग्नबाट नेपाललाई जोगाउन सकिने छैन । अब त्यो दिन धेरै टाढा पनि छैन, केवल ०८९ को निर्वाचनपश्चात सम्म हो !