प्रधानमन्त्री आज अपराह्न भारत प्रस्थान गर्ने, साँझ भेटवार्ताको कार्यक्रम

प्रधानमन्त्री आज अपराह्न भारत प्रस्थान गर्ने, साँझ भेटवार्ताको कार्यक्रम


प्रधानमन्त्री प्रचण्ड आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (२७ जेठ) अपराह्न नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीका साथ उहाँकी सुपुत्री गङ्गा दाहालका अलावा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुने जनाइएको छ ।

भरतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उहाँबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री भोलि सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री प्रचण्डले गत वर्ष जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।

ज्ञातव्य छ, सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । प्रधानमन्त्री मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गर्नुभएको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गर्नुभएको थियो ।

file photo: rss