आँगन

आँगन


जन्मघरको आँगनमा
मेरा कलिला पाउले
पहिलो चोटि स्पर्श गर्नुअघि
सूर्यको किरणसितै
सशरीर स्पर्श गर्न पुगेथ्यो,
जहाँ आमाका काखबाट झरेर
थाङ्नामा, गुन्द्रीमा र मझेरीमा पुग्दा
एक्लै घण्टौँभरि
दिउँसै नदेखिने नौलाख तारा गन्दै
वात्सल्य बितेको थियो ।
हो त्यही आँगननमा फेरि
म मेरो वात्सल्य
खोज्दैछु आजभोलि ।

त्यो आँगनमा !
कहिले लड्खडाउँदै
कहिले थिरी बाबा थिरी भन्दै
आमा-बाबाले बोलाइ-बोलाइ उठाइएको,
‘को खाई – को खाई .. नानी हाम्म’ गरेको
पटक-पटक लड्दै उठ्दै
अमराइट खेलेको
साथीहरूलाई बोलाइ बोलाइ
दाइँबरोदो भन्दै
गोरुको पुच्छर निमोठ्दै
दाइँ गरेको ठाउँमा
मेरा तिनै कलिला पाउका डोबहरू
फर्किएर त्यही आँगनमा म
पुनः खोज्दैछु आजभोलि ।

त्यही आँगन हो
जहाँ दिनहौँ भविष्यमा ओछ्याउने
गुन्द्री बन्नलाई
बाबियो र अर्घेलीका डोरी बाटेको
परालका त्यान्द्रा त्यान्द्रा जोडेर
हतासोले गुन्द्रीको बिट मार्दा
उठेका हातका ठेलाहरू
आफैं बुनेका खोसेलाका पिराहरू
सुमसुम्याउँदा कलिला रहरहरू
कोही केस्रा केस्रा भएर छोडिन्थे
पोया बनाइ बनाइ बटार्दा पनि
छुट्टिन्थे खुसीका पोययहरू !
हतासोले सह्यार्ने, सह्माल्ने कोशिश
अनवरत गरेकै हुँदासम्म पनि
अर्ती र उपदेश बटार्ने तोस्रोमा
तोरणहरू भएर
सुरक्षा र समानताको पाठ घोकाउने
शिक्षा-दीक्षा र सुविचार पनि
हत्यौरीमा अल्झिॅदै गए ।
तर पनि मैले
आफ्ना खुसी पोल्टाबाट निकालेर
परम्परा र बाध्यताको तानमा उनिदिएँ
यसैले हुनसक्छ आजपनि
घरि घरि गर्छु स्पर्श गर्छु त्यो आँगन
अनि खोज्छु मेरा पाउका कलिला डोबहरू।

म शिशु, बालिका, कन्या,
चेली, छोरी, अर्काको घर पोत्ने जातपछि
कसैकी श्रीमती, बुहारी, भाउजू, नन्द, आमाजु
मात्र नरहेर
मेरो अघि समाज थियो, रीतिथिति थियो
यसैले स्वाभिमानको बिट मार्न
समाजलाई हतार थियो
किनकि म
आधा धरतीकी
मालिक्नी भएर
दिनैपिच्छे
तानमा हतासोले ठोक्दै
कर्तव्य सुकाउने गुन्द्री निरन्तर बुनिरहने
वर्ग र जातमा परेँ ।

हिजोआज कहिलेकाहीँ टेक्छु त्यो आँगन
सम्झिन्छु आमा बोलेका अकाट्य शब्दहरू
सुन्छु बजेका चुराका सङ्गीतमय झञ्कार
नबुझिने अर्कै आवाज गुञ्जायमान छ।

रहेनन् अब
ती ठूला ठूला सुन्तलाका बोट,
बेलुका फुलेर बिहान आँगनमा छरिएका
पारिजात र टोटलाका फूल टिप्नलाई
हानथाप गर्ने
सानीमैयाँ र ठूलीकान्छीका पनि
फूल टिप्न सक्ने कलिला हातहरू ।

दुविधामा परेर सोचिरहँदा
कहिलेकाहीँ लाग्छ
आँगनमा पुरिएका
सम्झनाका डोबहरूजस्तै
वात्सल्यका सम्झनाहरू जस्तै
जिन्दगी जिउन तन्काइरहेको
मेरो जीवनको तान पनि
उठाउने बेला भइसकेको त छैन ?

  • गान्तोक, सिक्किम