पछिल्लो ६ वर्षमा कञ्चनपुर प्रहरीले यहाँको गड्डाचौकीलगायत सीमा नाकाबाट आठ सय ८९ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।
महेन्द्रनगरमा आइतबार आयोजित छुवाछूत तथा भेदभाव, मानव बेचविखन तथा अपराध नियन्त्रणसम्बन्धी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आर्थिक वर्ष २०७५/७६ यता हालसम्म आठ सय ८९ जना महिला तथा बालबालिकाको उद्धार गरिएको बताए । उनका अनुसार विभिन्न प्रलोभनमा भारतलगायत तेस्रो मुलुक लैजान लागिएका एक सय १८ जनाको चालु आवमा मात्रै उद्धार गरिएको छ ।
त्यसैगरी गत आवमा एक सय ७६, आव २०७८/७९ मा दुई सय दुई, आव २०७७/७८ मा ५६, २०७६/७७ मा एक सय २७ र आव २०७५/७६ मा २१० जना महिला तथा बालबालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक जोशीले मानव बेचबिखन तथा ओसारपसारमा सूचना ढिलो गरी प्राप्त हुनु, अव्यवस्थित बसाइँसराइ र सहरीकरण, चेतनाको कमी, पुनःस्थापनाको उचित व्यवस्थापनलगायतका चुनौती रहेको जानकारी दिए । त्यसैगरी कञ्चनपुरमा चालु आवमा मानव बेचविखन तथा ओसारपसारका सात वटा मुद्दा भएका छन् । गत आर्थिक वर्षमा यहाँ सोसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका थिए ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म मानव बेचबिखन तथा ओसारपसारका एक सय एक वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कले देखाएको छ । त्यस्तै जातीय छुवाछुत तथा भेदभावका घटनाहरु पनि सुदूरपश्चिममा विद्यमान रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष छुवाछुत तथा भेदभावका ५३ वटा मुद्दा दर्ता हुनुका साथै कञ्चनपुरमा गत आर्थिक वर्षमा दुई वटा मुद्दा दर्ता भएका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले छुवाछूत तथा भेद्भावविरुद्ध कानुन एउटा औजार मात्रै भएको बताउँदै सामूहिक प्रयासले यसको न्यूनीकरण हुनेमा जोड दिए ।
सो अवसरमा प्रदेश सरकार आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सशील वैद्य, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, दलित, महिलालगायत विभिन्न सङ्घ सङ्गठनमा आबद्ध संस्थाका प्रमुखहरुले धारणा राखेका थिए ।
rss
प्रतिक्रिया