प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता


भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार (२७ जेठ) बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाइ दिँदै उहाँको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा उहाँहरूबीच नेपाल-भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको र उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उहाँ आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।