गण्डकी प्रदेशको मुख्यमन्त्रीमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्त भएका नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज (२८ जेठ) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डे यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअघिका मुख्यमन्त्री नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि काङ्ग्रेसका पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन् । विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । विपक्षी एमाले-माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि पाण्डेलाई बहुमत पुग्दैन ।
राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको उल्लेख गर्दै भनेका छन्- ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने अधिकार पार्टीका केन्द्रीय अध्यक्षलाई छ, हेरौँ सोमबारसम्म समय छ, माथिबाट जे निर्देशन आउँछ हामी त्यहीअनुसार अगाडि बढ्छौँ ।’
यस्तै, मनाङ ‘ख’बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले तीस जना प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ उसैलाई निर्णायक मत दिने बताउँदै आएका छन् । गुरुङ खगराज अधिकारीनेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका थिए ।
माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा-२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ । देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ । यसअघि उनले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई नै विश्वासको मत दिएका थिए ।
यसआधारमा, यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आएपनि सरकार टिकाउन थप एक मतको खाँचो पर्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताएका छन् ।
file photo: rss
प्रतिक्रिया