महिलामन्त्री चौधरी र पूर्वराजदूत लिउ युहेबीच भेट

महिलामन्त्री चौधरी र पूर्वराजदूत लिउ युहेबीच भेट


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि चीनका पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालय (चीन), क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबीच भेटवार्ता भएको छ । मन्त्रालयमा सोमबार (२८ जेठ) मन्त्री चौधरी र पूर्व राजदूत युहेबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया-अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको थ्री पिलर महिलाको आर्थिक सशक्तीकरण, महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै, मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा पूर्वराजदूत युहेले वुमन्स प्रोग्रेस, डिजिटल इम्पावरमेन्ट ग्रीन डेभलपमेन्ट कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । भेटमा पूर्व राजदूत युहेले उक्त संस्थाको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि समेत मन्त्री चौधरीलाई आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट ५ एशिया र अफ्रिकन देशमा उक्त कार्यक्रम सुरू हुन गइरहेको समेत जानकारी दिइएको थियो ।