तीन दिनअघि नै भित्रियो मनसुन : अधिक वर्षा हुने

तीन दिनअघि नै भित्रियो मनसुन : अधिक वर्षा हुने


सुरेन्द्र सुवेदी, काठमाडौं

यस वर्षको मनसुन प्रणाली आज (२८ जेठ) बाट नेपाल भित्रिएको छ । देशको कोशी प्रदेशको पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको हो । केही दिनमा यो मनसुनले देशभर नै पानी पार्नेछ ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरी नेपालमा प्रवेश गरेको छ । नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुनअगाडि बढ्ने देखिन्छ’, मौसम पूर्वानुमान महाशाखाले भनेको छ । महाशाखाका अनुसार यो मनसुन केही दिनमा देशभर फैलने आंकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विगत वर्षका तुलनामा यो वर्ष वर्षा अधिक हुनेछ । अधिक वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी देखिएको मौसमविद्हरुको भनाइ छ ।

यो वर्ष सुदूरपश्चिम, बागमती, मधेश र कोशी प्रदेशमा अधिक वर्षा हुनेछ । वर्षा अधिक हुने आंकलनसहित मौसमविद्हरुले बाढी, पहिरोको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।

भौगोलिक विकटता, भूवनोट, सिवालिक क्षेत्रको गेग्र्यान माटो र ढुंगा खहरे र खोलाले बगाउँदा वर्षेनि सयौंको संख्यामा मानिसहरुले वर्षातको समयमा ज्यान गुमाउँदै आएका छन् । वर्षातमा अर्बाैं रकमका पूर्वाधार, सरसामन पहिरो र खोलाले बगाउने भइरहेको छ ।

मौसमविद्हरुका भनाइअनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतले दैवी विपद्मा उद्धार र खोजका लागि अभ्यास गर्दै दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका छन् ।