चोरिएका १९ मोटरसाइकल र स्कुटर सवारीधनीलाई हस्तान्तरण

चोरिएका १९ मोटरसाइकल र स्कुटर सवारीधनीलाई हस्तान्तरण


काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरिएका १९ वटा दुई पाङग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले १३ वटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

ट्राफिक प्रहरीमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा नागढुङ्गा, बौद्ध, एयरपोर्ट, काडाँघारी, सुकेधारा, महाराजगञ्ज, नयाँबसपार्क, नेपालटार, माकलबारी, स्वयम्भू, सोह्रखुट्टे र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका १९ वटासहित ३ सय ८३ सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता एसएसपी श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा चोरीका २८ वटा २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोधगरेको छ ।