पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्नेमा प्रधानमन्त्री विश्वस्त

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्नेमा प्रधानमन्त्री विश्वस्त


प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गर्नुभएको छ । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जानुभएको थियो । भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको सङ्ज्ञा दिनुभयो ।

उहाँले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्मा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको उहाँले स्वीकार गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गर्दै अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

photo: rss