जेनेभा प्रस्थान गर्दै राष्ट्रपति पौडेल

जेनेभा प्रस्थान गर्दै राष्ट्रपति पौडेल


अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (२९ जेठ) साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्दैछन् । यही जेठ ३१ गते आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी गराएअनुसार राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति पौडेलका साथ धर्मपत्नी सविता पौडेलका अलावा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कर्ने तय भएको छ ।

file photo: rss