नेपाली सेना : २८ हजार नागरिकलाई विपद् व्यवस्थापनमा दक्षता प्रदान

नेपाली सेना : २८ हजार नागरिकलाई विपद् व्यवस्थापनमा दक्षता प्रदान


  • सुरेन्द्र सुवेदी, काठमाडौं

सोमबार (२८ जेठ) देखि नेपालमा मनसुन भित्रिएको छ । कोशी प्रदेशबाट भित्रिएको यस वर्षको मनसुन अबका तीन दिनमा देशभर फैलिसक्ने प्रारम्भिक अनुमान छ । विगत वर्षभन्दा यो वर्ष ३५ देखि ५५ प्रतिशत अधिक वर्षात् हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणसँगै बाढी र पहिरोबाट नेपालीलाई जोगाउन, बेपत्ताको खोज तथा उद्धारका लागि नेपाली सेनाले तयारी पूरा गरेको जनाएको छ । सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार सेनाका केन्द्रदेखि जिल्लातहसम्मका गुल्मसमेतमा सजगताका लागि कृयाकलापहरु भइरहेका छन् ।

सेनामा विपद् व्यवस्थापन निर्देशनालय रहेको छ । यो निर्देशनालय मातहत राजधानीको सुन्दरीजल र चितवनको रसौलीमा दुई वटा गण रहेका छन् । र, राजधानी र राजधानी बाहिरका प्रत्येक प्रदेशमा एक एक प्रितनामा एक एक विपद् व्यवस्थापनका लागि टिम तैनाथ राखिएको सैनिक प्रवक्ता केसीले घटना र विचारलाई वताए । उनका अनुसार नेपाली सेनामा भर्ना भएका सैनिकलाई विपद् व्यवस्थापनका लागि आवश्यक सीप र तालिम पनि दिइन्छ, जसका कारण करिव ९६ हजार सैनिक दक्ष रहेका छन् ।

सेनाले ०७६ सालदेखि सामुदायिक विपद् प्रतिकार्य तालिम स्थानीय जनतालाई दिँदै आएको छ । हालसम्म २७ हजार ९ सय ६६ जनालाई यस्तो तालिम दिएको सैनिक मुख्यालयको भनाइ छ । यो वर्षमात्र ३ हजार ३ सय ४१ जना स्थानीयले विपद् प्रतिकार्यको सीप लिएका छन् । सेनाले गर्दै आएको ‘अभ्यास मनसुन’ तालिम २७ जिल्लाका ६१ स्थानमा गरिसकेको छ भने कोशी, लुम्बिनी र बागमति प्रदेशमा ‘अभ्यास हातेमालो’ नाम दिएर सरोकारवाला गृहमन्त्रालय, रेडक्रस, वन मन्त्रालय, सशस्त्र र नेपाल प्रहरीसमेतलाई सहभागी गराउँदै विपद् व्यवस्थापनको पूर्व तयारी गरेको छ ।

‘नेपाली सेना यो वर्षको मनसुनमा हुन सक्ने बाढी, पहिरोसमेतका विपद्मा नागरिकको जीउधनको रक्षा गर्दै खोज, उद्धारका कामका लागि सबै तयारीका साथ रहेको छ’- सैनिक प्रवक्ता सहायक रथी केसीले भने ।