अमेरिका पठाउने बहानामा चार करोड ठगी, नारायणकुमार पक्राउ

अमेरिका पठाउने बहानामा चार करोड ठगी, नारायणकुमार पक्राउ


अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका-११ घर भई हाल काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामङगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।

पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले मंगलबार (२९ जेठ) पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रहरीले जनाएअनुसार पक्राउ परेका नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा चार करोड ३३ लाख ६८ हजार एक सय १२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पुऱ्याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति रु १० लाखसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका(११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा रु ३८ लाख ३५ हजार र दुर्गाबहादुर वलीले विभिन्न मितिमा रु आठ लाख २० हजार रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । निजले अमेरिका पठाउने भन्दै हालसम्म करिब आठदेखि १० जना व्यक्तिबाट रकम लिएको र युरोप पठाएबापत प्रतिव्यक्ति रु आठदेखि दश लाखसम्म रकम लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अभियुक्त नारायणकुमार खड्काको खातामा जम्मा भएको रकममध्ये रु चार करोड ३२ लाख २६ हजार एक सय एक दशमलव ७३ पैसा झिकीसकेको र हाल खातामा एक लाख ४२ हजार पाँच दशमलव ८२ पैसा मौज्दात रहेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका खड्कालाई विभिन्न कार्यालयबाट आठ वटा बैंकिङ कसुर र एउटा ठगी मुद्दा (जम्मा बिगो रु ७८ लाख ८८ हजार बिगो बराबर) चलेको देखिएको प्रहरीले जनाएको छ । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।