मुलुकको पछिल्लो सङ्कट : डिजिटल आतङ्कवाद र जलवायु परिवर्तन

मुलुकको पछिल्लो सङ्कट : डिजिटल आतङ्कवाद र जलवायु परिवर्तन


ब्रह्माण्डमा अनेकौँ ग्रह छन् । पृथ्वीमात्र त्यस्तो ग्रह हो जहाँ मानव जातिको अस्तित्व छ । थुप्रै जनावरहरू किन लोप भए भन्ने भुलेको मानवजाति पृथ्वीलाई कुरूप बनाउन मरिहत्ते गरिरहेको छ । फगत आर्थिक सम्पन्नताको होडमा निस्किएका शक्तिराष्ट्रको अविवेकी कर्मले ‘प्रकृति र मानव सभ्यता’को विरुद्ध कालो इतिहास निर्माण गरेको छ । जसले गर्दा पृथ्वीको दीर्घकालीन अस्तित्व खतरामा परिसकेको छ । धनी राष्ट्रसँग ‘रहेको तागत र अवसर’ले समेत पृथ्वीको समस्या घटाउन सकेको छैन ।

पृथ्वीको अकल्पनीय दोहनमार्फत धनी बनेका ‘शक्तिराष्ट्र’ले सिर्जना गरेको ‘जलवायु परिवर्तन’को असर मुलुकले महसूस गरिसकेको छ । उल्लेखित तथ्यलाई अनदेखा गर्दै मुलुकवासीको निम्ति एउटा मात्र रहेको ‘नेपाल’को प्राकृतिक दोहनमा तथाकथितहरू निस्किएका छन् । यस्तो विडम्बनापूर्ण अवस्थामा शक्तिराष्ट्रको लालचीपनले जन्माएको ‘जलवायु परिवर्तन’ डरलाग्दो बनेर देखापरेको छ । साथै ‘गाँडमाथि पिलो’ भन्ने उखानलाई उछिन्दै शक्तिराष्ट्रको रणनीतिक हतियार ‘डिजिटल आतङ्कवाद’ समेत आँगनमा झुल्केको छ । दुर्भाग्य ! सिंहदरबारलाई यस्ता विषयले चिमोट्नसम्म सकेको देखिँदैन ।

मुलुकमा निराशा उत्पन्न गर्न सरकार र सोसल मिडिया उत्तिकै सक्रिय छन् । मुलुकविरुद्ध रणनीतिक ढङ्गले सुरु गरिएको ‘डिजिटल आतङ्कवाद’ सर्वसाधारण नागरिकले अनदेखा गरिरहेका छन् । ‘राजनीतिक रूपमा प्रेरित’ भ्रम र झुटा समाचारलाई नागरिकले सत्य मानिरहेका छन् । नक्कली समाचार र प्रचारको माध्यमबाट ‘मानिस र संस्था’ बीच निराशा र असहमति फैलाउने कार्यलाई ‘डिजिटल आतङ्कवाद’ भन्ने गरिएको छ । यसलाई कसैले साइबर आतङ्कवाद पनि भन्ने गरेका छन् ।

यद्यपि ‘डिजिटल आतङ्कवाद’को परिभाषा फरक-फरक भए पनि यसले गरिरहेको कामको निचोड भने समान रहेको छ । दुर्भाग्यवश अहिलेसम्म मुलुकले ‘डिजिटल आतङ्कवाद’ शब्दको अर्थ खोज्न सुरु गरेको छैन ! हिंसा सञ्चालन गर्न इन्टरनेटको प्रयोग गरिएको पछिल्लो समयमा मुलुकसमेत प्रताडित भइरहेको छ । हिंसात्मक हमला गर्नका लागि प्रविधिको प्रयोग र दुरुपयोग भएको नागरिकले बुझ्न सकिरहेका छैनन् ।

सरकारले सामाजिक सञ्जाललाई ‘नियमन’ गर्नुपर्ने अवस्था आइसकेको छ । आम नागरिकसँग अन्तरक्रिया गर्दै, मुलुक र नागरिकको गोपनीयता कायम राख्दै, अनुशासित ढङ्गले आफ्ना अभिव्यक्ति पोख्ने माध्यमको रूपमा सोसल मिडियालाई जीवित राख्न ढिला भइसकेको छ । मुलुकमा चुनौती बढिरहेको छ । चुनौतीको व्यवस्थापन गर्न मानिसले सङ्घर्ष गरिरहेको हुन्छ । पछिल्लो फेसबुके पुस्ताले सामाजिक सञ्जालमा आलोचना पोख्नुलाई क्रान्ति ठानिरहेको छ । उनीहरूको उत्ताउलो गतिविधिले हिंसात्मक खतराहरू उत्पन्न गरिरहेको छ । मुलुक भीडसँग जुधिरहेको छ ।

आधुनिक प्रविधिलाई रोक्न सकिँदैन तर नागरिकलाई मुलुकप्रति जिम्मेवार बनाउनुपर्नेछ । निःसन्देह, हाम्रो गतिविधि आधुनिक संसारसँग मिल्दोजुल्दो हुनुपर्छ । साथै परम्परागत क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ । आलोचनालाई सभ्य बनाउनु पर्दछ । मुलुक र युवा पुस्ता बीच लोकतान्त्रिक समझदारी हुनुपर्नेछ । सोसल मिडियामार्फत पोखिएको आलोचनाले युवाहरूको जायज क्रोध र निराशालाई बुझ्न सकिन्छ । विद्रोहमार्फत जन्म लिने राजनीतिक समस्यालाई रोक्न सकिन्छ । विद्रोहको बहानामा हुने तोडफोड र राष्ट्रिय नोक्सानीलाई रोक्न सकिन्छ । साथै बदलिँदै गरेको विद्रोह या रूप परिवर्तन गरिएका विद्रोहलाई समयमै शान्त बनाउन सकिन्छ । उनीहरूको आवश्यकताको सम्बोधन गर्दै सभ्य समाज निर्माण गर्न सकिन्छ ।

पुरातात्त्विक खोजकर्ताको अध्ययनले देखाएको छ, पृथ्वीमा थुप्रै सभ्यता लोप भइसकेका छन् । बालुवा र माटोको अध्ययन र विश्लेषणले भनिरहेको छ, अनेकौँ शहरको जन्म कसरी भएको थियो । पुरातात्त्विक खोजहरूले विगतमा जलवायु प्रकोपको असर र क्षति बुझ्न सहयोग पुगेको छ । यस विषयमा कसैले बहस गरिरहन जरुरी छैन, मानवताबिनाको विज्ञान र सिद्धान्त बिनाको राजनीतिले मानव जातिको कल्याण गरेको इतिहास छैन । लोकरिझ्याइँ, स्टण्ट र घृणाको राजनीतिले पृथ्वी र मुलुकवासीलाई गुन लगाउन सक्दैन । भनिन्छ, वर्तमानमा मुलुकवासीले भोगेका हरेक प्रकोप विगतमा हाम्रा पुर्खाले भोगिसकेका थिए । जसलाई उनीहरूले समयमै बुझे । प्रकृति बचाउन पृथ्वी, आकाश, वायु, जल, अग्निलाई देवता माने । ढुङ्गा, माटो, पक्षी, वन जङ्गल, जनावर बचाउन पूजासमेत गरे ।

विगतमा ‘सभ्यता’ पतनको कारण जलवायु परिवर्तन नहुन सक्छ, तर वर्तमान समयमा जलवायु परिवर्तन सभ्यता पतनको कारण बन्न सक्ने चिन्ता फैलिएको छ । टेक्टोनिक परिवर्तनले सम्भवतः समुद्रहरू घटेको र तटीय रेखा परिवर्तन भएको हुन सक्छ भन्ने वैज्ञानिकहरूको दाबी विगतदेखि सुनिँदै आएको हो । जलवायु प्रकोपको आक्रमण उकालो चढिरहेको पछिल्लो समयमा मुलुकले जलवायु परिवर्तनलाई चिन्ताजनक ढङ्गले सोच्न थालेको भेटिँदैन । जलवायु परिवर्तन ‘स्पष्ट र डरलाग्दो’ छ र हुनेछ भन्ने बुझ्न नचाहेको सरकारले निकट भविष्यमा अकल्पनीय ‘बाढी र वर्षा’ भोगेपछि स्वीकार गर्ला । समुन्द्री सतहबाट धेरै माथि रहेको काठमाडौं शहरले भोग्दै गरेको तापक्रमले जनसाङ्ख्यिक परिवर्तन ननिम्त्याएसम्म सिंहदरबारले स्वीकार नगर्ने देखिएको छ ।

भनिन्छ, राजनीतिक गतिविधि शून्यमा हुँदैन । विकासोन्मुख देशहरूमा, नकारात्मक प्रतिक्रियाले मानिसहरूको ध्यान गज्जबले तानिरहेको हुन्छ । सामाजिक र आर्थिक सूचकहरू कमजोर भएको मुलुकमा जलवायु परिवर्तनको नाराले राम्रो स्थान बनाउन सकेको पाइँदैन । आफ्नै दैनिकीमा डुबिरहेका आम मानिसले भोगिरहेको कठिनाइ राजनीति, जलवायु प्रकोप र कुशासनसँग जोडिएको छ भन्ने बुझ्दाबुझ्दै उल्लेखनीय हस्तक्षेप बढाउन सक्दैनन् । राजनीतिले एजेन्डाहरू निर्माण गरिरहेको समयमा विश्वव्यापी परिवर्तन र नयाँ-नयाँ एजेन्डा गरिब मुलुकको निम्ति बाध्यात्मक बन्न जानेछ ।

जलवायु परिवर्तनले मुलुकमा उथलपुथल ल्याउँदैछ । यसको सामना गर्ने क्षमता मुलुकसँग रहेको देखिँदैन । मानवीय सङ्कटबाट बच्नको लागि मुलुकले अत्यावश्यक एजेन्डा तय गरेको देखिँदैन । चुनौतीको मात्रा बढ्दै छ । जलवायु परिवर्तनले उत्तम अवसर समेत ल्याउने छ भन्ने सोचमा सरकार रमाइरहेको देखिन्छ । राजनीतिक शक्तिको आडमा महत्त्वपूर्ण स्रोतहरू हडप्न मरिहत्ते गरेका स्वार्थ समूहले समस्या समाधान तर्फ सरकारलाई सक्रिय हुन दिएको छैन । अल्पकालीन राजनीतिक लाभको फन्दामा परेका नेताले समस्याको व्यापार गरिरहेका छन् । प्रकृतिले विनाश मच्चाएपछि तात्नेहरू सिंहदरबारमा रमाइरहेका छन् । बढ्दै गरेको उच्च तापक्रमले निकट भविष्यमा गरिबी, बसाइँसराई, खाद्यान्नको अभाव लगायतको विकराल समस्या ल्याउने सङ्केत मिलिसकेको छ । जसको पछिल्लो प्रमाण पहाड र तराइवासीले भोगिरहेको खडेरी, पानीको हाहाकार र प्रचण्ड गर्मीलाई लिन सकिन्छ ।

मानिस आशावादी प्राणी हो । उसले सदैव राम्रो समयको कल्पना गरिरहेको हुन्छ । उच्च तापक्रम र चरम खडेरीको बीच सिर्जना गर्ने कोसिस गरिरहेका छन् । बगर र बालुवामा खेती गरिरहेको छ । दुर्भाग्यवश, आफ्नै आँखा अगाडि डरलाग्दो परिवर्तन भइरहेको छ । हिमनदीहरू पग्लिरहेका छन् । पानीको स्रोत दबिरहेका छन् । तापक्रम र विनाश बढिरहेको छ । जलवायु परिवर्तनले ल्याउने विनाश अकल्पनीय हुन सक्नेछ । अतिवृष्टि, अनावृष्टि, भोकमरी, खडेरी, बाढी, पिउनेपानीको अभावमा मुलुक फस्ने छ । जसले वृद्ध र बालबालिकाको जीवनमा डरलाग्दो धक्का दिनेछ । बालबालिकाको मस्तिष्क, फोक्सो र प्रतिरक्षा प्रणालीको स्वास्थ्यमा विकराल समस्या आउने छ । मुलुकको विकास थप पछाडि धकेलिने छ ।

सिंहदरबारले अझैपनि नागरिक र बालबालिकाको भविष्यको बारेमा चिन्ता सुरु गरेको छैन । अल्पकालीन कुर्सीका भोका प्राणीहरू आफ्नै बन्दोबस्त गर्न असफल भएको समयमा उनीहरूबाट मुलुक र मुलुकवासीको निम्ति सोच्ने कल्पना गर्न सकिँदैन । तथापि, उसलाई जन स्तरबाट दबाब दिन या झक्झकाउन निरन्तर लागिरहनुपर्छ । बढ्दै गरेको तापक्रम नियन्त्रण गर्न, जलवायु प्रकोपबाट मुलुकवासीलाई बचाउन, बालबालिकाको आवश्यकताप्रति उत्तरदायी बन्न, वित्तीय संयन्त्रको पूर्व तयारी जस्ता कार्यको निम्ति जनस्तरबाट दबाब दिन अपरिहार्य छ ।

सरकार र नागरिकको सामूहिक पहलमा ‘पानी र हावा’ बचाउन अर्थपरक पहल जरुरी छ । बढ्दै गरेको प्रदूषण र प्रदूषण फैलाउने तमाम तत्त्वको पहिचान गर्दै त्यसको प्रयोग घटाउन ढिला भइसकेको छ । जलवायु परिवर्तनसँग जुध्न विश्वसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्नेछ । जलवायु वित्तलाई गम्भीरतापूर्वक लिनुपर्छ । पानीको स्रोत बचाउन सबै उपाय अपनाउनुपर्नेछ । पानीको अभाव पूर्ति गर्न थुप्रै पक्की ड्यामहरूको निर्माण गर्नुपर्नेछ । पोखरी, आहाल, इनार, ट्याङ्कीहरू युद्धस्तरमा निर्माण गर्न जरुरी छ । यसैगरी विद्यालय शिक्षामार्फत जलवायु परिवर्तनको बारेमा बालबालिकालाई उचित शिक्षा दिनुपर्नेछ ।

भनिन्छ, २०३० सम्म पृथ्वीको तापक्रम झन्डै १.५ डिग्री सेल्सियस उकालो चढ्दैछ । मुलुकले आफूलाई परिवर्तन गरेन या यथास्थितिमै रमाइरह्यो भने आगामी दिन थप भयावह हुने निश्चित छ । जसले धेरै बालबालिकाको मृत्यु हुन सक्छ । जलवायु प्रकोपले गरिब देशलाई थप सताउने छ । उचित समय आएको छ, पृथ्वी बचाउन ‘कट्टरपन्थी कारबाही’ आवश्यक छ । हरेक व्यक्ति र संस्थाले प्रकृतिलाई माया गर्नुपर्नेछ । प्रकृति बचाउन हरेक व्यक्तिले योगदान पुऱ्याउन जरुरी छ । प्लास्टिकमुक्त जीवनशैली अपनाउने, रिसाइकल गरिएका सामान उपयोग गर्ने, रिसाइकल गर्न सरकारलाई चौतर्फी दबाब दिनुपर्नेछ । साथै हरित ऊर्जाको उपयोग र बोटबिरुवाको संरक्षण गर्नुपर्नेछ । सरकार र मुलुकवासीको प्रत्यक्ष सहभागितामा रणनीतिक वृक्षारोपण कार्यक्रम तत्काल गर्नुपर्नेछ । मुलुक बचाउन र पृथ्वी जोगाउन आजैबाट लाग्नुपर्नेछ ।

www.pandeydipendra.com.np