वंशज नागरिकता लिन खोज्ने तीन भारतीय पक्राउ

वंशज नागरिकता लिन खोज्ने तीन भारतीय पक्राउ


गलत विवरण पेश गरी वंशज नागरिकता लिन खोजेको अभियोगमा तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने भारत घर भएका ५१ वर्षीय हरियोम गुप्ता भन्ने हरिओम कुमार र उनकै छोराहरू २० वर्षीय ऋषि गुप्ता र १८ वर्षीय किशोर रहेका छन् ।

ऋषि गुप्तासमेतले आफ्ना बुबालाई बेपत्ता भएको बनाइ भारतीय नागरिक भएको तथ्यलाई समेत लुकाइ वंशज नाताले नागरिकता लिनको लागि गलत विवरण दिएर वडा कार्यालयबाट सर्जमिन मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फारम भरी पेश गरेका थिए ।

उनीहरूमाथि नागरिकता ऐनअन्तर्गतको कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

पित्तल देखाएर ठगी गर्ने दुई जना पक्राउ

कास्कीमा सुनजस्तो पहेँलो रङको धातु देखाएर ४ लाख रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् ।

उनीहरूले पोखरा महानगरपालिका-८ सृजनाचोकमा प्लाष्टिक पसल संचालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई सुनजस्तो धातु देखाएर ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।