- सुरेन्द्र सुवेदी, काठमाडौं
मानव तस्करहरुको जालो भयावह बन्दै गएको छ । पछिल्लो सयम पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै १ हजारजना भन्दा बढी युवा ठगिएको पाइएको हो ।
राजधानीको कोटेश्वर तथा तिनकुनेमा रेशम रावलसमेतले संचालन गरेको युनिक कन्सल्टेण्ट्स, वर्ड वाइड कन्सल्टेण्ट्स, ग्लोवल हुमन रिसोर्स मेनेजमेण्ट र रियाज एजुकेसन कन्सल्टेण्ट्स, रावल ट्राभलसमेतबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाणपत्र सबै सक्कलै कागजातहरु लिएर युवाहरु ठगिएको पाइएको हो ।
यी कन्सल्टेण्ट्स र ट्रभलमा प्रहरीले छापामादा २ सय २९ जना युवाका राहदानी बरामद भए भने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतका २७ वर्षीय रेशम रावल, ३५ वर्षीय सन्तविर घिमिरे, २६ वर्षीय प्रेमबहादुर रावल, २४ वर्षीय राजेश साउद, काभ्रेका ३० वर्षीय सुरेन्द्र तामाङ, काभ्रेकै २५ वर्षीय टंकराज खनाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले जानकारी दिए ।
यिनीहरुले फेसबुक, ह्वाट्सएप, टिकटकसमेत सामाजिक सञ्जाल प्रयोग गर्दै आकर्षक तलवको प्रलोभन पारेर प्रचार गर्दै युवाहरु सम्पर्कमा ल्याउने र ठगी गर्दै आएका थिए । अनि सक्कल राहदानी, नागरिकता, शैक्षिक प्रमाणपत्र सबै सक्कलै कागजात लिएर डकुमेन्टेशन, नोटरी गर्न भन्दै बैनाको रुपमा एक जनासित ३५ हजार लिने र १७ हजार ५ सय रुपैयाँको रसिद दिने गरेको खुल्न आएको छ ।
राजधानीको तिनकुनेमा घरको फ्ल्याट भाडामा लिई साइन बोर्डसमेत नराखी प्रधान कार्यालयको रुपमा चलाउने तथा त्यसको करिव एक सय मिटर आसपासमा फरक-फरक घरमा ती कम्पनीहरु खोल्दै ठगी गरेको प्रवक्ता एसपी जिसीले घटना र विचारलाई बताए ।
यो समूहले विदेश पठाउन नसकेपछि कागजात फिर्ता माग्दा १ लाख ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म तिरेरमात्र कागजात फिर्ता दिने भन्दै फर्काउने गरेका थिए ।
तीन दिनअघि अमेरिका पठाउने भन्दै ४ करोड ३३ लाख ६८ हजार १ सय १२ रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामङगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्कालाई नियन्त्रणमा लिएको थियो । खड्काले ८ सय १० जनालाई ठगी गरेका थिए ।
यसरी नै केही दिनअघि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्ससमेतका देशमा रोजगारीका लागि पठाउने भन्दै ३ सय जनाबाट १५ करोड रुपैयाँबढी ठगीमा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यो गिरोहमा तीन जना संलग्न थिए । फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेतका सामाजिक संजालमा रविन आले भगर, मनोजजङ थापा, महेश थापा नाममा नक्कली आइडी बनाएर चितवनको भरतपुरका राजकुमार भट्ट (२८), कास्कीको माछापुच्छ्र्रेका नवीन बिक (२२) र कास्कीको पोखराका पवन पन्त (२३) ले ३ सय जनालाई ठगी गरेका छन् ।
प्रतिक्रिया