फिस्लिङ दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

फिस्लिङ दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु


पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङ बजारनजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कारचालकको मृत्यु भएको छ ।

दुर्घटनामा कारचालक कास्कीको पोखरा महानगरपालिका-५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।

घाइते तीन जनाको अवस्था गम्भीर छ । चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।