महासंघ नेतृत्व लिने तयारीमा श्रमजीवी पत्रकारका नेता जैसी

महासंघ नेतृत्व लिने तयारीमा श्रमजीवी पत्रकारका नेता जैसी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

श्रमजीवी पत्रकारको पक्षमा विगत १६ वर्षदेखि निरन्तर लड्दै आएका पत्रकार जन्मदेव जैसी नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनमा नेतृत्व लिने तयारीमा जुटेका छन् । आफूले चुनावी अभियान सुरु गरिसकेको र देशभरका सक्रिय श्रमजीवी पत्रकारहरूको राम्रो साथ पाइरहेको उनले घटना र विचारलाई बताए ।

जैसीले भने- ‘पत्रकारिता गरेर गुजारा चलाइरहेका श्रमजीवी साथीहरूको राम्रो साथ छ, सबैले महासंघको नेतृत्वमा पुग्नैपर्छ भनिरहनुभएको छ, त्यसैले म आसन्न महाधिवेशनमा नेतृत्व लिन प्रतिस्पर्धामा उत्रने छु र मैले आस्था राख्ने संगठनबाट पनि साथ पाउने विश्वास लिएको छु ।’

दुई दशकअघिबाट व्यवसायिक पत्रकारिता थालेका जैसीले राजधानीबाट प्रकाशित हुने दैनिक, साप्ताहिकदेखि एफएम रेडियोमा लामो समय काम गरिसकेका छन् । २०६४ मा श्रमजीवी पत्रकारहरुको हकहितलाई ध्यान दिएर उनले श्रमजीवी पत्रकार संघ नै स्थापना गरे । यो संघमा अहिले ७ सय २७ सदस्य आवद्ध छन् ।

संघ स्थापना गरेपछिको श्रमजीवीका आवाज बोल्ने जैसीले मिडिया हाउस र त्यसका सञ्चालकले पत्रकारमाथि गर्ने शोषण, अन्याय तथा अत्याचारविरुद्ध कडारूपमा प्रस्तुत हुन थाले । जैसी श्रमशोषक ‘मिडिया’ मालिक, कर्पोरेट हाउस, शासकका आँखाका पिलो हुन् भने शोषण, दमन, उत्पीडनमा परेका पात्रहरुका भरोसाको सतिसाल ।

जैसीलाई श्रमजीवी पत्रकार संघले निर्णय नै गरेर पत्रकार महासंघको नेतृत्वमा पठाउने निर्णय नै गरिसकेको छ । देशमा सबै पार्टीका आ-आफ्ना पत्रकारका संस्था छन् । ती संस्थाहरु गठबन्धन गरेर निर्वाचनमा जाने गरिएको विगत छ ।

जैसी भने व्यवसायिक साथीहरूको टिममा रहेर महासंघको नेतृत्वमा जाने बताउँछन् । अहिले नेकपा एमालेको प्रेस चौतारी, नेपाली कांग्रेसको प्रेस युनियन, माओवादी केन्द्रको प्रेस सेन्टरसमेतले महासंघको नेतृत्व लिन रणनीति बनाइरहेका छन् । यस्तो अवस्थामा जैसीले भने व्यवसायिक टिममा आवद्ध भएर महासंघको नेतृत्वमा जाने योजना बनाएका छन् ।

‘मलाई पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नेतृत्व लिन सबै पक्षबाट साथ मिलिरहेको छ, जसका कारण निर्वाचनमा सहजै जित निस्कनेमा म ढुक्क छु’- श्रमजीवी पत्रकारहरुका साझा नेता जैसीले भने ।