व्यास नगरपालिका प्रमुखको निर्वाचन विवाद प्रकरण : पुनः मतगणना स्थगित !

व्यास नगरपालिका प्रमुखको निर्वाचन विवाद प्रकरण : पुनः मतगणना स्थगित !


तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित गरिएको छ । उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो ।

०८१ जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न आदेश दिएको थियो । सो फैसलाविरुद्ध बहालवाला नगरप्रमुख वैकुण्ठ न्यौपानेले यही जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिट सर्वोच्चमा सुनुवाइ हुन बाँकी छ ।

उक्त सुनुवाइको पेसी असार २ गतेलाई सारिएको छ । यसअघि जेठ २७, २८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो ।

सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिएका छन् । नगरप्रमुख न्यौपानेले पुनः मतगणना स्थगितका लागि उच्च अदालतमासमेत निवेदन दर्ता गरेका थिए ।

उता पुनः मतगणनाको माग गरेका दीपकराज जोशीले चाहिँ नगरप्रमुख न्यौपानेले आफ्नो पद लम्ब्याउन अनेक चालबाजी अपनाइरहेको भन्दै सामाजिक सञ्जालमार्फत यसअघि नै असन्तुष्टि प्रकट गरेका थिए ।