कलैयामा क्याम्पसप्रमुख कुशवाहाको गोली हानी हत्या

कलैयामा क्याम्पसप्रमुख कुशवाहाको गोली हानी हत्या


अज्ञात समूहको गोली प्रहारबाट बारा कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ । अज्ञात समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप्रका बाराका प्रवक्ता दधिराम न्यौपानेका अनुसार आदर्शकोतवाल गाउँपालिका-२ खजुरियास्थित पुर्ख्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका-३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो ।

दुई वटा मोटरसाइकलमा आएका चार जना सवार अपराधीले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पताल आज साँझ ७ः१५ बजे आसपासमा मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

घटनामा संलग्न भएको आशङ्कामा दुई स्थानीयलाई नियन्त्रणमा लिएको र घटना घटेको क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरी अपराधीलाई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।