चर्चाको तमोर करिडोरमा सस्तीको स्वागत !

चर्चाको तमोर करिडोरमा सस्तीको स्वागत !


भर्खरै परेको पानीले अलि-अलि भएका रुख विरुवाले शितल महसूस गरे होला । ओइलाएका पातहरू हरिया फर्किए होला । बाटोबाट उडेर टाँसिएको धुलो पखालेर हलुङ्गो हुने गरी त बर्षात् हुनै सकेको छैन । शरीरमा उबेला दिनभर धुलो गरेको स्वागत अझैं पखालिएको छैन कि जस्तो आभास हुन्छ- त्यो यात्राको सम्झना गर्दा । यात्राको दुई महिना बितिसक्दा पनि त्यहाँको धुलोको धङधङी अझै कतै-कतै रहे जस्तो लाग्छ । त्यसैले केही दिनअघि परेको पानीले पाखापखेरा, भीर र पहरा फोरेर उम्रेका र विकासका नाममा पहरा खोप्दा बाँच्न सफल भएका प्रकृतिप्रदत्त सृष्टि उपजहरूले शितलता प्राप्त गरे भन्ने विश्वासका साथ त्यो अविस्मरणीय यात्रालाई लिपीवद्ध गर्न उद्दत भएँ ।

हाम्रा बा-आमाले भोगेर भनेका कतिपय कुराहरू किंवदन्ती झैँ लाग्छन् । उहाँहरूले भोग्नुभयो, हामीले सुन्यौँ । हाम्रा सन्तति बा-आमाको भोगाइ उहाँहरूकै मुखबाट सुन्न पाइरहेका छन् । ती भोगाइलाई उनीहरू कथा झैँ मान्छन् । यो समय पनि अब धेरै लामो रहँदैन । अब न सुन्ने समय धेरै छ न त सुनेर आजको पुस्ताले विश्वास नै गर्छ ! हो त्यही अवस्थामा छ कुनै समय पूर्वी पहाडका कुना कन्दराले भोगेको आत्मकथा ।

विश्व परिवेशमा द्रुत विकासले झपक्कै छोपेको छ । यसो भनिरहँदा अविकसित सूचीमा रहेको नेपालमा पनि केही नभएको भने अवश्य होइन । कुरा यतिमात्र हो अपेक्षित हुन सकेन । त्यसो हुनुमा कारणहरू धेरै होलान् । त्यतातिरको बहस अलग्गै छ ।

धरानदेखि ताप्लेजुङसम्म ढाकरमा नुन बोकेको किंवदन्ती झैँ लाग्ने बा-आमाको भोगाइको कथाले डोहोरिएको हाम्रो यात्रा पनि कम सकसपूर्ण रहेन । संयोगले जुराएको संयुक्त यात्रा साँच्चिकै अविस्मणीय र भावी पुस्तालाई सुनाउँदा उही किंवदन्तीकै रूपमा पुग्ने निश्चित छ । किनकि अबको १५/२० वर्षपछि हामीले यात्रा गरेको मार्गले बेग्लै रूप लिइसकेको हुनेछ । बुङबुङ उड्ने धुलोमाथि अलकत्राले रंग भरिसक्नेछ । अनि कालो चिल्लो बाटोको रूपमा परिणत हुनेछ । बाटोछेउमा बस्तीहरू भरिनेछन् । चोकैपिच्छे विभिन्न प्रकारका खाना/खाजा लगायत खाद्यान्नका पसलहरूले भरिभराउ हुनेछन् । त्यो बेलासम्म वातावरणीय स्वच्छता कायम गर्ने रुख विरुवाको हविगत भने के हुन्छ ? अनुमान लगाउन कठिन छ । यद्यपि अहिलेको जस्तै सुख्खा हुने हो भने भिर-पाखा पखेरा उजाड हुनेछन् । खोलाकिनारका केही निश्चित ठाउँहरूले आँखामा शितलता भर्लान् कि भन्ने आशा गर्न सकिन्छ ।

ताप्लेजुङदेखि काठमाडौंसम्मै तमोर करिडोरको चर्चा थियो र छ । अघिल्लो साल ठिक यसैबेला उही करिडोरको बाटो हुँदै ताप्लेजुङ जान ठूलो बुबाले इच्छा गर्नुभएपछि टिकट गर्नका लागि सम्पर्क शुत्र निकै बढाउनु पऱ्यो । एनकेन प्रकारेण सत ठाउँ सम्पर्क गर्दा दमकदेखि गाढी चढ्ने गरी टिकट गर्न सफल भएँ । ८८ वर्षको उमेरमा ठूलोबुबा (लेखनाथ)ले त्यो बाटोको यात्रा गर्न चाहनुको कारण पनि त्यही थियो तमोर करिडोरको बाटो छिटो छ । अर्को थियो बाटो कताबाट कता निस्कँदोरहेछ ? कि आफूले पहिले ढाकरमा नुन बोकेको ठाउँ पनि पो पुगिन्छ कि ! जसरी बुबालाई हल्लाले करिडोर हिँडायो । हामी हिँड्नुको कारण पनि उही थियो । फरक यति थियो बुबाले सार्वजनिक ट्याक्सीबाट यात्रा गर्नुभयो हामी मोटरसाइकलमा ।

बिहान ६ बजेर १० मिनेट जाँदा फुङलिङ नगरपालिका वडा नं. ७ स्थित चिहानडाँडाबाट सामुहिक यात्रामा सहभागी हुँदा चिसो मौसमले स्पर्श गरिरहेको थियो । मलाई पुऱ्याउन आएको भाइ कृष्णलाई बिदा गर्दै दाजुको मोटरसाइकलमा चढेसँगै ओरालो हुइँकियौं । दुईवटा मोटरसाइकलमा सवार तीन दाजुहरू (चेतनाथ, काजी, दुर्गा दाजु) र म थियौं । जहाँबाट यात्रा प्रारम्भ गऱ्र्यौँ त्यो ठाउँ तीन जना दाजुहरूको लागि पूर्ख्यौली थाकथलो थियो भने मेरो जन्मस्थल । यसको मतलब त्यो ठाउँको बारेमा दाजुहरू भन्दा म अलिक बढी जानकार थिएँ । काबेलीसम्मको यात्रामा पारिवारिकदेखि ठाउँविशेष, वारिपारिका डाँडा, पाखाको चर्चामै बित्यो ।

काबेलीबाट उकालो चढेपछि तुलनात्मक रूपमा कम क्षमता भएको हाम्रो सवारीलाई विस्तारै अघि बढाउनुभयो दाजुले । दुई दाजुहरू हामीभन्दा केही अघि नै हुनुहुन्थ्यो सवारी साधनको क्षमताका कारण । चिहानडाँडाबाट हिँडेका हामी एकैचोटी गोपेटारमा रोकियौं । चिसो निकै थियो । त्यहाँ चिया पिउने मन भएपनि त्यसलाई धकेलेर जोरपोखरी पुऱ्यायौं । अचानोको पिर खुकुरीले जान्दैन भने झैँ सवारी चलाउनेलाई कति कठिन भएको थियो होला । तर दाजुहरूलाई जोरपोखरी देखाउने ध्येयले काजी दाजुसँग जोरपोखरीमा खान चिया प्रस्ताव गरेँ । ल हुन्छ भन्दै चेतनाथ दाजुलाई जोरपोखरीमा रोकियौँ भन्दै मोटरसाइकल अघि बढाउनुभयो ।

जोरपोखरी प्रवेश गर्नै लाग्दा बाटैमा देखिएको विश्रामालय र मन्दिरको हविगत देख्दा दुःख लागेर आयो । ती संरचना मुनि पानीबिनाको पोखरी । अल्मलिनु नै व्यर्थ थियो । केही अघि बढ्दा घेराबारा गरेर लङ्दुर टाँगिएको पोखरीको एकछेउबाट माथि जाने सिँढीको बाटो । सिँढी शुरु हुने बिन्दुमा दुईवटा ठूल्ठूला त्रिशुल त्यसअघि प्रवेशद्वार । दुई त्रिशुलका बीचमा काजी दाजुको तस्बिर लिएपछि अगाडि बढ्यौं । भोक लागिसकेको थियो । जोरपोखरी परिसरमा अवस्थित घिमिरे बन्धुको खाजा पसलमा बसेर । चिया बिस्कुट र चाउचाउको सुपको स्वाद लिएपछि पुनः यात्राले निरन्तरता पायो ।

भारपाको ओरालो झर्ने क्रममा दाजुहरूको आँखा ‘लक्षीमा कोशेली घर’मा परेछ, जहाँ ग्राहकको आँखाअगाडि घिउ बनाएर दिइँदोरहेछ । विशेषता बुझ्नका लागि घिउ किन्यौँ र दृष्यावलोकन गऱ्यौँ । झण्डै २० मिनेटमा ३ केजी घिउ बनाएर दिए कोशेली घरका साहुजीले । फेरि अगाडि बढ्यौँ । जोरसाल आइपुग्दा पौने एघार भइसकेको थियो । बाटो मोडिने भएपछि दुई दाजुहरू साधनको खान्की व्यवस्थापन गर्न केही माथिरहेको पेट्रोलपम्पतर्फ लाग्नुभयो । म र दुर्गा दाजु त्यहीँ जोरसालमा राखिएको पहिचानयुक्त स्ट्याचु ..मा फोटो कैद गर्दै रह्यौँ ।

लगभग ११ बजेदेखि शुरु भयो हाम्रो नयाँ बाटोको यात्रा । तमोर खोलासम्म मेरालागि पुरानै भएपनि दाजुहरूका लागि बिल्कुल नयाँ थियो । झण्डै १० किलोमिटर तल झरेपछि लोकेसनयुक्त बोर्ड राखिएको ठाउँमा पुग्यौँ । त्यहीँबाट शुरु भएछ हाम्रो कष्टपूर्ण यात्रा । ‘कि आफू जान्नु कि भनेको मान्नु’ यी दुवै नमानेर अघि बढेका हामीले तमोर पुल नपुग्दैदेखि ‘जसले गर्छ रहर उसैको जान्छ गोठको बहर’ भन्ने उखान चरितार्थ लाग्न थालिसकेको थियो । खोलामा पुगुञ्जेल असजिलो बाटो छ भन्ने कुरामा जानकार थिएँ, किनकि तीनवर्ष अघि मैले खोलासम्मको यात्रा गरेकी थिएँ । त्यहाँबाट तेह्रथुम हिँडेका हामी ड्राइभरले कताबाट गाडी मोडे र कता पुऱ्याए पत्तै पाएकी थिइनँ । त्यो यात्रामा ‘आजै अन्तिम रहेछ’ भन्ने तहसम्म पुगेका थियौँ ।

करिडोरको यात्रा रहरको थियो । बोर्डको लोकेशन हेऱ्यौँ र कच्चीबाटोबाट यात्रा शुरु ग ऱ्यौँ । त्यही बाटो हो भनेर ढुक्क हुनका लागि सडक किनारामा निर्माण कार्य गरिरहेका मजदुरलाई सोध्यौँ । उनीहरूले बाटो यही हो भनेपछि ढुक्क भएर अघि बढ्यौँ ।

जसोतसो खोलासम्म पुगियो । पुल तरेपछि त केही राम्रो बाटो होला भन्ने मनमनमा लाग्दै थियो । तर, मनको कुरा मनमै रह्यो । पुलदेखि एकघुम्ती पार गर्दागर्दै विपरित दिशाबाट आएको ट्याक्सीको धुलो हिउँदमा भित्री मधेशमा लागेको कालो बाक्लो हुस्सु भन्दा डर लाग्दो थियो । एकातिर बुङ्बुङ्ती उढेको धुलोले आँखाले देखिने भागसम्म धमिलो बनाइदियो । भुइँतर्फको कुरा गर्ने हो भने मोटरसाइकलको चक्का झपक्कै छोप्ने धुलो । जसरी बर्खामा बाढी आउँदा बाटो । हिलो, खाल्डा, पैनी केही देखिँदैन बुङ्बुङ्गे धुलोको राज त्यस्तै थियो । फरक यत्ति हो- बाढीमा हिलो, मैलो पानी उछिट्टिएर भिजाउँछ यहाँ धुलो उछिट्टिएर छपक्कै छोपिएका हाम्रा बस्त्र र रूप रंग पनि उस्तै उस्तै । जति उकालो उक्लिँदै गयो डरको भारी बढ्दै थियो । यति अप्ठ्यारो बाटोमा कथंकदाचित साधन नियन्त्रण हुन नसके के होला ? सवारी बिग्रिए के गरौँला ?

अघि जोरसालसम्मको यात्रामा हामीभन्दा निकै अघि दौडिने दाजुहरू यहाँ हामी भन्दा निक्कै पछि नै हुनुहुन्थ्यो । बेला–बेला काजी दाजु भन्दै गर्नुहुन्थ्यो- ‘बहिनी.. दाजुहरू फर्किनु त भएन होला नि !’ ‘छैन‘- दाजु जवाफ फर्काउँथे । फर्कने सम्भावना नै थिएन । माथि डाँडाबाट हेर्दा कतै नदेखिएसँगै मनमा अनेक तर्कनाहरू मडारिन थाले । मन तुल्बुल-तुल्बुल भयो । तर, यो बेला हामी सवार सवारीका चालक काजी दाजुलाई ड्राइभमै सहजता प्रदान गर्नुपर्थ्यो । सकेसम्म प्रयास गरेँ । पुल तरेर अलिक माथि उक्लिएसँगै दाजुले भनिसक्नु भएको थियो- ‘अचानक खुट्टा टेक्नुपर्ने हुनसक्छ । सचेत भएर बस्नु है । कारणवश गाडी तलमाथि भयो र भार थेग्न सकिएन भने खुट्टा भाँच्चिने जोखिम हुन्छ ।’

यसरी अघि बढेका हामीले गाडी रोकेर पर्खन सक्ने स्थिति नै थिएन । दाजुहरू नदेखिँदा मनभरी औडाहा भयो- किन पछि रहनुभयो ? कतै समस्या पो भयो कि ! प्रश्न दोहोरिरह्यो । तथापि, कुनै अप्रिय घटना भयो भने हामी फर्केर जान सक्ने सम्भावना पनि थिएन । यी यावत कुरा खेल्दाखेल्दै हामी निकै माथि पुगिसकेका थियौँ । सामान्य स्कूटर आफैं ड्राइभ गर्ने म प्रायः पछाडि बस्नै परेको थिएन । यदाकदा बस्नु परेपनि लामो दुरीको त थिँदैथिएन । अझ भन्नुपर्दा पहाडी भेगमा मोटरसाइकलको यात्रा त यो नै पहिलो थियो । दाजुले सचेत रहनु भनेसँगै हवस् भन्नुको विकल्प थिएन । लागिरह्यो कि परिआएको खण्डमा झट्ट खुट्टा टेकेर गाडी लड्न वा ढल्किनबाट बचाउन सक्दिनँ होला !

मलाई लाग्छ यो यात्रामा दाजु र म दुवै डराएका थियौँ । तर, हामी दुवैले डरको छनक कसैलाई दिएनौँ ताकि यात्रा सहज होस् ! लगभग सवा बाह्र बजे अबको यात्रा केही सहज होला कि जस्तो लागेके थियो । ठाउँ भन्न सक्ने कुरै भएन । अग्लो डाँडोमा पुग्दा युद्ध नै जितेझैँ अनुभव भयो । करिडोरको बाटो आउँदैछौँ भन्ने थाहा पाएसँगै काजी दाजुलाई आमाले निरन्तर फोन गर्दा यात्रा जतिसुकै सकसपूर्ण रहेपनि ‘बाटो छिटो छ रे… आइपुगिहाल्छौँ’ भन्दै दाजु आमालाई आश्वस्त पार्नुहुन्थ्यो । दुई दाजुहरूको पत्तो थिएन । बाटो सहज हो कि जस्तो लागेपछि गाडी रोकर पर्खिने बहानामा बाटोछेउबाट देखिनेसम्म दृष्य नियाल्यौंँ । तल सुख्खा र खडेरीले सुसाउन पनि नसक्ने अवस्थामा पुगेको तमोर नदी लमतन्न सुतेको । पारीपट्टि भिर-पाखा बीचबाट निकालिएको बाटो अलिअलि गाउँ नियाल्यौँ । केहीपछि दाजुहरू आइपुग्नु भयो । यतिञ्जेल हामीले आफैंलाई नियाल्न भ्याएका रहेनछौँ । जब चेतनाथ र दुर्गा दाजुलाई देखेँ र उहाँहरूले एकछिनको यात्राको भोगाइ सुनाउँदा धन्न हामी त सकुशल त्यहाँसम्म पुगेछौँ भन्ने लाग्यो । अघि कमजोर मानिएको हाम्रो सवारी यो बाटोमा भने ठिक ठहरियो । धुलो झार्नका लागि छेउमा कतै स्याउला भेटिन्छ कि भनेर यताउता आँखा डुलाएँ । तर त्यो खैराते पाखामा केही उपाय चलेन । सकेसम्म बुङबुङे धुलो टाँसिएका आ-आफ्ना सल र गल्फनले धुलो टक्टक्याए झैँ गऱ्यौँ र चित्त बुझायौँ ।

सास छउञ्जेल आश भने झैं यो बाटोभरी सहज बाटोको आशा मारेनौँ । तर, मुलघाट आइनपुञ्जेल ज्यानलाई जोखिममा राखेर यात्रा गरिरह्यौँ । खुट्टा टेक्न सचेत गराएपनि मैले त्यो जोखिम मोल्नु परेको थिएन । दुईजना दाजुहरू त कति लड्यौँ भन्ने हिसाब नै बिर्सियो भन्दै हुनुहुन्थ्यो ।

खडेरीले भएका बोटविरुवा पनि सुकेर खैराते पाखोमात्रै देखिने । धुवासरीको धुलो अब त पुगिएला कि भन्ने आशैआशमा भुल्के आइपुग्यौँ । दिनको २ बजिसकेको थियो । भोक उस्तै लागेको । कतै पानी किनेर खानेसम्म ठाउँ नभएको बाटोको यात्रा साँच्चै स्मरणीय थियो । पेट्रोलपम्प खोल्नका लागि इटहरीका राई दाईले निकै ठूलो संरचना निर्माण गर्दैरछन् भुल्केमा । खाना पनि खुवाउने गरेको बुझेपछि हामीले पनि त्यही खायौँ । बाटोको धुलोको राज भान्सासम्मै देखिन्थ्यो । कुरैकुरामा खाना खानु कि धुलो खानु दाइ भनेर जिस्क्याएपछि सटर लगाएर खाना खुवाए । खानासँगै दुर्गा दाजुले कान समातेर कसम खाँदै भन्नुभयो- अबदेखि यो बाटो हिँड्दिनँ । त्यसो भन्नुमा उहाँको आफ्नै पीडा थियो बाटोमा धुलोमा लड्दाको पीडा उहाँलाई नै बढी भयो । हामी सकुसल आयौँ तर दुई दाजुहरूको धुलोमाथिको लडाइँ निकै बढी नै रहेछ ।

२० वर्षपछिको व्यापारलाई हेरेर उनले पेट्रोलपम्मसहितका संरचना बनाएका रहेछन् । सुख्खाग्रस्त गाउँ भएकोले धेरैले गाउँबस्ती छोडेर बसाइँ सरेर गाउँ नै रित्तै हुने अवस्थामा पुगेको समाचार लेखियो र पढियो पनि । यो यात्राले पाँचथरको त्यो गाउँमै पुऱ्याइदियो । पाँचथर जिल्लामा पर्ने झुल्केमा तमोरको पानी लिफ्टिङ गरेर लगिएको रहेछ ।

छोटो बाटो भन्ने सुनेका हामीमा अझै पनि घरमा छिटै पुग्ने आशा जिवितै थियो । तर राई दाइले अब अगाडिको बाटोको बारेमा भने ‘अब ती सबै गौण भए !’ पुनः यात्राले निरन्तरता पायो । अनकन्टार… ! गाउँ नै छैन, गाउँ नै नभएपछि बस्ती हुने कुरै भएन । अक्करेभिर र पहरा खोपेर खर्बौं खर्चेर बर्षौं लगाएर किन र के प्रयोजनका लागि भन्ने खुट्याउन सकिएन । झुल्केयता लागेपछि ठाउँ–ठाउँमा भित्तो खोप्ने यन्त्र (जेसीवी) र त्यसका चालक देखिन्थे । यो यात्राभरी विश्लेषण गर्दा लगानी र उपयोगीताको पुष्ट्याइँ गर्ने भरपर्दो आधार नपाएपछि कसले सेक्यो स्वार्थको रोटी भन्ने प्रश्न जिवितै छ ।

कानेपोखरीसम्म हाम्रो सँगै यात्रा थियो । त्यसपछि दाजुहरूलाई छोडेर मैले अर्को कुनै सवारी समात्नै पर्थ्यो घर आइपुग्नलाई । भुल्केबाट अघि बढेका हामी दाजुबहिनीको फेरि भेट पछाडि रहनुभएका दाजुहरूसँग भएन । एनकेन प्रकारेन साढे ४ बजे मुलघाट पुग्दा एउटा ठूलो युद्ध जितेर फर्केको सिपाहीको झैँ छाती गर्वले फुल्यो । भगवानलाई धन्य भनिरहेँ ।

झुल्केबाट छुटेका हामी चारजनाको फेरि भेट हुन सकेन । मलाई जसरी पनि घर पुग्नुपर्ने । भेडेटारमा आएर एक/एक कप चिया पियौँ र ओरालो हुइँकियौँ । मुलघाट निस्किएपछि सहज यात्राको अनुभूति हुन थालेसँगै बाटोमा पर्ने पर्यटकीय क्षेत्रको कुरा हुन थाल्यो । चर्चामा रहेको नमस्ते झरनालाई बाटैबाट बाईबाई भन्दै अघि बढेका थियौं । धरान झर्दै गर्दा म नपुगेको ठाउँ बुढासुब्बा र दक्षिणकाली परिसर पुऱ्याएर यसो दर्शन गरेर आउनु भन्दै दाजु बाइकलाई तयारी अवस्थामा राख्नुहुन्थ्यो । मैले पनि आज्ञाकारी बनेर दाजुले भनेअनुसार गरेँ, किनकि दाजुको भन्दा मैले अण्डै डेढ-दुई घण्टाको लामो यात्रा पूरा गर्नु थियो । पिन्डेश्वर विद्यापीठलाई बाहिरैबाट दृष्यावलोकन गरेपछि अघि बढ्दै गर्दा बुढासुब्बा । दक्षिणकालीका बारेमा आफ्नो अनुभव र विश्वासबारे दाजुले सुनाउनुभयो । यो बाटो कटनीको मेलो पनि थियो । यो यात्रामा दाजु बहिनीबीच धेरै कुराहरू भए- पारिवारिक, राजनीतिक, सामाजिक तथा मलाई मन छोएको एउटा विषय- नेपालीले विकसित देख्ने चीन र चीनका युवाले कम आयश्रोत भएका कारण अमेरिका, जापान र बेलायत जान चाहेको कारण ! छोटो समय चीनमा पुगेका बेला त्यहाँका युवाको प्रत्यक्ष चाहना बुझ्दा खुशी र सन्तुष्टि कहीँ नहुने रहेछ भन्ने स्पष्ट भएँ । हामीले चीनलाई विकसित र धनाढ्य देख्छौँ । तर त्यहाँको आयश्रोतले युवाको मन छुन नसकेको कुरा सुनेपछि लाग्यो- आकांक्षा जति भएपनि जीवित रहन्छ । असन्तुष्टि सबैतिर हुन्छ ।

त्यहाँबाट हुँइकिएका हामी एकैचोटी इटहरीको पूर्व स्टेनमा रोकियौँ । म धरानदेखि नै काँकरभिट्टा जाने गाडीको चासोमा थिए । इटहरी आइपुग्दा विराटनगरबाट आएको बस रहेछ । हतार-हतार मोटरसाइकलबाट झरेँ र दाजुलाई म यसैमा जान्छु भन्दै बस चढेँ । खुट्टा टेक्न नपाउने गरी मान्छे कोचरेको बस घिस्रिरहेको थियो । दाजुले कानेपोखरीसम्म पीछा गर्नुभयो । त्यो पछि हाम्रो यात्रा आ-आफ्नो रह्यो । विर्तामोड आइपुग्दा साढे नौ बजिसकेको थियो । दाजुहरूलाई आफू पुगेको जानकारी दिनुका साथै उहाँहरूको पनि अवस्था बुझ्ने हेतुले फोन गरेँ । हामी तीनैजनाका दाजु चेतनाथ दाइ त्यतिबेला भर्खर आइपुग्यौँ भन्दैहुनुहुन्थ्यो, जसरी काजी दाजु र म आयौँ । चेतनाथ र दुर्गा दाजुलाई यो यात्रा अझ सकसपूर्ण रहेको उहाँहरूको बोलीबाट स्पष्ट हुन्थ्यो ।

भदैनी यमुनाको बिहेले जुराएको यो संयोगमा तमोर करिडोरको यात्रा नगर्न मलाई धनपति भिनाजुले सुझाउनुभएको थियो भने दाजुहरूलाई पनि सुरेश दाइले भन्नुभएको रहेछ । नयाँ बाटोको यात्रा गर्ने रहर म र दुर्गा दाजुभन्दा बढी काजी दाइ र चेतनाथ दाइको थियो । यात्राका हामी सारथी । बाटोको अवस्था देख्दा लाग्यो सरकारले तत्काल यो बाटो हिँड्न रोक लगाएर चाँडो बनाइसक्नुपर्छ, तबमात्र यात्रा अनुमति दिनु श्रेयस्कर छ । अन्यथा दुर्घटनाको प्रवल जोखिम जुनसुकै समय पनि रहन्छ ।