एउटै गच्छदारको चार नेतासँग चार कुरा

एउटै गच्छदारको चार नेतासँग चार कुरा


नेपाली राजनीतिमा ‘विशिष्ट प्रतिभा’ भएका नेताहरूको कुनै कमी नरहेको दृष्टान्त माओवादी अध्यक्ष प्रचण्ड बनिरहनुभएका बेला उहाँलाई पनि माथ गर्ने क्षमता फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले देखाउनुभएको छ । पात्र र परिस्थितिअनुसार कुरा गर्ने धेरथोर क्षमता सबै राजनीतिक दलका नेताहरूमा देखिए पनि प्रचण्डले सबैलाई उछिनेर ‘यस विधामा’ कीर्तिमान कायम गर्नुभएको थियो । तर, अहिले प्रचण्डलाई टक्कर दिन विजयकुमार गच्छदार कस्सिनुभएको उहाँका निकटवर्तीहरूले जनाएका छन् । सम्बद्ध सूत्रका अनुसार विजय गच्छदारले बितेका एक महिनाभित्र माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, काङ्गे्रस नेता रामचन्द्र पौडेल र एमाले नेता केपी शर्मा ओलीसँग गर्नुभएको संवादले गच्छदारको प्रतिभा उजागर गरेको छ । विभिन्न चार नेताहरूसँग फरक–फरक समयमा गच्छदारले दिनुभएको अभिव्यक्तिको रोचक विवरण यहाँ प्रस्तुत गरिएको छ ।
प्राप्त जानकारीअनुसार माओवादी अध्यक्ष प्रचण्डसँग गच्छदारले भन्नुभएको थियो, ‘अध्यक्षज्यू, गिरिजाबाबुपछि यो देशको सर्वोच्च नेता तपाईं हुनुहुन्छ । तपाईंकै मुख हेरेर हामीले बाबुराम भट्टराईलाई समर्थन गरेका हौँ । वास्तवमा प्रधानमन्त्री बन्नुपर्ने तपाईं नै हो, बाबुरामजीमा सरकार चलाउन सक्ने क्षमता छैन भन्ने महसुस हामीलाई पहिले नै भएको हो, अहिले पुष्टि भइसकेको छ । तपाईंले काँध नथाप्नुभएको भए यो सरकार यहाँसम्म आइपुग्ने नै थिएन । हामी तपाईं नै प्रधानमन्त्री भएको हेर्न चाहन्छौँ, हामी सदा तपाईंको साथमा छौँ ।’
प्रचण्डसँग भेटेको केही दिनमै गच्छदारले प्रधानमन्त्री बाबुराम भट्टराईसँग बालुवाटारमा विशेष भेटवार्ता गर्नुभएको थियो । उक्त भेटवार्ताका क्रममा गच्छदारले भन्नुभएको थियो, ‘डाक्टर साहेव तपार्इं यो देशको सबैभन्दा लोकप्रिय नेता हुनुहुन्छ । तपार्इंकै कारणले शान्ति स्थापना र संविधान निर्माण प्रक्रियाले गति लिने सम्भावना बढेको हो । तपार्इंजस्ता विद्वान् एवम् निष्ठावान नेतासँग काम गर्न पाउनु हाम्रो सौभाग्य हो । तपाईं भएकै कारणले मात्र हामीले साथ दिएका हौँ । तपाईंबाट शान्तिप्रक्रिया पूरा हुनेछ र संविधान पनि तपाईंले नै जारी गर्ने हो । हामी तपाईंलाई काँधमा बोकेर हिँड्न तयार छौँ । निर्वाचन पनि तपाईंकै नेतृत्वको सरकारले गराउनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
त्यसपछि गच्छदार एक दिन भक्तपुरको बालकोटस्थित केपी ओलीको निवासस्थानमा पुग्नुभयो । ओलीसमक्ष आफ्नो धारणा खुलस्त गर्दै उहाँले भन्नुभयो, ‘ओलीजी, यो देशमा माओवादीलाई टक्कर दिनसक्ने कोही एक मात्र नेता छ भने त्यो तपाईं हो । तपाईंले माओवादीलाई टक्कर नदिनुभएको भए उनीहरूको ज्यादति कति बढ्थ्यो भन्न सकिन्न । माओवादीमा देश चलाउने कुनै क्षमता देखिएन, उनीहरूको कारणले यो देश बर्बाद हुन लागिसकेको छ । अब यिनलाई धेरै दिन यो राष्ट्रले बोक्न सक्दैन । तपार्इं अघि बढ्नुहोस्, हामी तपार्इंलाई सम्पूर्ण रूपले साथ दिन तयार छौँ । माओवादीबाट यो मुलुक बचाउन तपाईं अघि सर्नैपर्छ ।’
नेता ओलीसँग भेटेलगत्तै विजय गच्छदार नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेललाई भेट्न पुग्नुभयो । पौडेललाई गच्छदारले जय नेपाल भनेर सम्बोधन गर्दै भन्नुभयो, ‘दाजु तपाईं मेरो हिजो पनि नेता, आज पनि र भोलि पनि नेता हुनुहुन्छ । कारणबस म अहिले क्षेत्रीय पार्टीमा बस्नुपरेको भए पनि आफ्नो रगत–पसिना परेको काङ्गे्रसप्रति मेरो ममता अझै यथावत् छ । म काङ्गे्रसबाट भावनात्मक रूपले अलग हुनै सक्दिनँ । कम्युनिस्टहरूले देश बर्बाद गरिसके, अब तपाईंजस्ता इमानदार र बौद्धिक नेता अघि सर्नुपर्छ । तपाईंलाई प्रधानमन्त्री बनाउन जस्तोसुकै जोखिम उठाउन पनि म तयार छु । तपाईं अघि बढ्नुहोस्, होइन भने प्रचण्ड–बाबुरामले देश बर्बाद गरिसक्छन् । सरकार तपाईंकै नेतृत्वमा बन्नुपर्छ, बरु तपाईं प्रधानमन्त्री बनेपछि पनि अहिले मैले पाएको उपप्रधानमन्त्री र गृहमन्त्रीको हैसियतचाहिँ कायम राखिदिनुहोला, हामी तपाईंलाई काँधमा बोकेर हिँड्न तयार छौँ ।’
यसरी विजय गच्छदारले फरक–फरक समयमा चार नेतासँग भन्नुभएको कुरा सम्बन्धित नेताहरूबाटै नै घटना र विचारले जानकारी प्राप्त ग¥यो । चार नेतासँग एक गच्छदारले गरेका चार कुराले नेपाली नेताहरूको वास्तविक ‘क्षमता’ उजागर गरेको ठहर हामीले गरेका छौँ । तर, चारमध्ये गच्छदारको सही कुरा के होला ? वास्तवमा चारवटै गलत, सहीचाहिँ जसको सरकार बने पनि ‘आफू उपप्रधानमन्त्रीसहित गृहमन्त्री भइरहन पाउनैपर्छ’ भन्ने मात्र सही भएको पुष्टि हुन्छ ।